इजरायल-प्यालेस्टाइन द्वन्द्वको नालीबेली
सेतोपाटी पडकास्ट ‘पेरिस्कोप’ मा आज हामी इजरायल-प्यालेस्टाइनी समस्याको इतिहास, इजरायलमा हमासले आक्रमण गर्नुका कारण र अब हुनसक्ने परिदृश्यलगायत विषयमा चर्चा गर्नेछौं।
शनिबार बिहानै प्यालेस्टाइनी अतिवादी समूह हमासले अचानक इजरायलमाथि गाजाबाट आक्रमण गर्यो। प्यालेस्टाइनीलाई रोक्न लगाइएका पर्खाल डोजरले तोडेर, काँडेतार काटेर हमास लडाकु इजरायलभित्र घुसे। प्याराग्लाइडिङ गर्दै आकाशबाट र डुंगाहरूको प्रयोग गरेर समुद्रबाट हमासका लडाकु इजरायलका विभिन्न सहरहरूमा पुगे। आफ्ना लडाकु इजरायलमा घुसेको थाहा नपाओस् भनेर हमासले केही समयभित्रै २००० भन्दा बढी रकेट प्रहार गर्यो।
'द इकोनोमिस्ट' पत्रिकाका अनुसार हमासका लडाकुले सीमामा लगाइएका क्यामेरा र सेन्सरमा गोली हानेका थिए। इजरायली सेनाको दक्षिणी गाजा हेडक्वार्टरमा आक्रमण गरेर सञ्चार अवरूद्ध पारे।
नरसंहार मच्चाउँदै सर्वसाधारण र बर्दीमा रहेका सयौं इजरायली र दर्जनौं विदेशी नागरिकको हत्या गरे।
हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएर गाजा क्षेत्रनजिकैको फार्ममा काम गर्ने १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते छन्। एक जना नेपाली विद्यार्थीको अवस्था अझै अज्ञात छ।
सन् १९७३ मा यहुदीहरूको चाड योम किपुरका दिन इजिप्ट, सिरियालगायत अरब राष्ट्रले इजरायलमाथि आक्रमण गरेको ठ्याक्कै ५० वर्ष र १ दिनपछि हमासले शनिबारको हमला गरेको हो। हमासको उक्त आक्रमणबाट इजरायलको पछिल्लो पुस्ताले कहिल्यै नभोगेको हिंसा र आतंकको सामना गर्नुपर्यो। मंगलबार बिहानसम्म हमासको आक्रमणमा परेर ९ सय इजरायलीको मृत्यु भइसकेको छ। सय जनाभन्दा बढी इजरायलीलाई हमासले अपहरण गरेर लगेको छ।
इजरायलीका लागि यो हमला ११ सेप्टेम्बर २००१ मा अमेरिकामाथि अल-कायदाले गरेको हमलाजस्तै भएको छ। अमेरिकाले इजरायलको सुरक्षाका लागि निरन्तर साथ दिने प्रतिवद्धता जनाइसकेको छ।
विमानवाहक युएसएस गेराल्ड फोर्डको नेतृत्वमा युद्धपोतहरू इजरायलतर्फ पठाइसकेको छ।
इजरायलले सुरु गरेको जवाफी कारबाहीमा झन्डै ७०० जना हमास लडाकु र प्यालेस्टाइनी सर्वसाधारणको ज्यान गइसकेको छ। अत्यावश्यकीय सेवाका लागि इजरायली पूर्वाधारमा निर्भर गाजामा बिजुली, पानी, इन्धन र खाद्य सामग्रीसमेत लैजान इजरायलले रोक लगाइसकेको छ। गाजाका बीस लाख बढी प्यालेस्टाइनीका लागि आगामी दिन धेरै कष्टकर हुनेछन्।
हमासले किन इजरायलमाथि आक्रमण गर्यो भनेर बुझ्नका लागि इजरायल-प्यालेस्टाइनको इतिहास जान्नुपर्ने हुन्छ।