एनआरएनए महाधिवेशन: नयाँ सोच र फरक शैलीको खाँचो
गैरआवासीय नेपाली संघ एनआरएनएको एघारौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० देखि कात्तिक ३ (अक्टोबर १७ देखि २० तारिख) सम्म हुँदैछ। यस पटकको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
केही अलमल, केही उतारचढाव, केही विश्वासको संकट र केही उपलब्धिहरूपछि हुन लागेको यसपटकको महाधिवेशनलई ‘बेग्लै उचाइमा पुर्याउने बाटो’ तय गर्ने विश्वास मैले लिएको छु। परिवर्तन सबैतिर खाँचो छ। अहिलेको समाज, आर्थिक विकास, अहिलेको प्रविधि अहिलेको राजनीति र अहिलेको कूटनीति पहिलेको जस्तो छैन। हरेक क्षेत्रमा नयाँ शैली र फरक सोचहरू विकास हुँदै गएका छन्। परम्परागत शैली र सोचले मात्र अब आजको दुनियाँमा कुनै पनि उद्धेश्य हासिल गर्न सकिँदैन।
समयको माग अनुसारको फरक सोच र फरक शैली आवश्यक छ। परम्परागत नेपाली राजनीतिको प्रभावमा परेर र त्यही शैलीलाई पछ्याएर न मातृभूमिका नेपालीको, न कर्मभूमिका नेपालीको समृद्धिमा योगदान दिन सकिन्छ।
अबको एनआरएनए नेपालका अनेक समस्याका साक्षी बन्ने होइन, समस्या समाधानका उत्प्रेरक बन्ने हो।
ज्ञान, सीप, प्रविधि र आर्थिक क्षमताका हिसाबले आज संसारभर छरिएका नेपालीले ठूलो फड्को मारिरहेका छन्। यसको फाइदा मातृभूमिले पनि लिन सक्नुपर्छ।
व्यक्तिगत तहमा केही भइरहे पनि संस्थागत तहको प्रभावकारिता अझै पनि एनआरएनएले देखाउन सकिरहेको छैन। यसमा कतिपय एनआरएनएका आफ्नै र कतिपय नेपाल सरकारका कमजोरीहरू छन्।
यी कमजोरीहरूलाई जतिसक्दो छिटो पहिचान गरेर अगाडि बढ्न जरूरी छ।
कमजोरीको कुरा गर्दा, पहिले हामी आफैं भित्रको कमजोरीका कुरा गरौं।
हामी अर्थात् एनआरएनएले नेपाल सरकार र नेपाली जनताको अझै पनि पर्याप्त विश्वास आर्जन गर्न सकेका छैनौं।
गफ बढी, काम कम जस्तो भइरहेको छ। त्यसमाथि कता कता नेपाली राजनीतिक शक्ति र सत्ताको खेलमा समेत एनआरएनमा परेको दोष पनि एनआरएनएमाथि लागेको छ।
पदलाई शक्ति ठान्ने र त्यो नभए आफ्नो कुनै हैसियत हुँदैन भन्ने जस्तो भ्रमबाट पनि हामी कतिपय ग्रस्त छौं।
यस्ता दोष र भ्रमहरूबाट एनआरएनए मुक्त हुन जरूरी छ। हामी एनआरएनएको नेतृत्वदायी भूमिकामा बस्नेहरूले पनि, एनआरएनएको गरिमा, महत्व र प्रभावकारितालाई त्यही हदसम्मको गहिराइमा बुझ्न सकिरहेका छैनौं।
एनआरएन एउटा यस्तो बलियो संस्था हो, जो कतिपय अवस्थामा आवश्यक परेको बेला सरकारभन्दा छिटो दौडन सक्छ।
चाहे त्यो इजरायलका नेपालीका वेदना होस् वा चाहे पोर्चगुलका नेपालीले पाएका दु:खका कुरा होऊन्, चाहे अरबमा नेपालीको कामको सम्मान र सुरक्षाको कुरा होस वा चाहे त्यो जापानका नेपालीले ब्यहोरेको तनावको कुरा होस्।
चाहे ती अमेरिका वा युरोपतिरका ठूला नेपाली व्यापारीहरूका लगानीका कुरा होस् वा चाहे ती युक्रेनदेखि अमेरिकासम्म र अष्ट्रलियादेखि बेलायतसम्मका नेपाली विद्यार्थीहरूका समस्याका कुरा होस्। यी सबैतिर एनआरएनएको प्रभावकारी भूमिका हुनसक्छ। हुनुपर्छ पनि। तर आज हामी कतै चुकिरहेका छौं कि भन्ने महसुस मलाई भइरहेको छ।
अब हामीसँग समय छैन। हामीले समय पर्खिरहेका छौं, समयले हामीलाई पर्खिरहेको छैन।
हामीलाई इजरायलका नेपालीलाई जोगाउनु पनि छ। नेपालका आमाहरूको मुहारमा हाँसो ल्याउनु पनि छ।
हामीलाई त्यही दिन दोहा पुग्नुछ, हामीलाई त्यही दिन ब्रिसबेन पुग्नु छ। हामीलाई गोर्खाको बारपाकमा भूकम्प पीडितलाई उद्धार गरेर त्यही दिन अफ्रिकामा आत्महत्या गरेको नेपालीको शवको आडमा बसेर रूनु र शवको व्यवस्थापन गर्नु पनि छ।
यो मात्र होइन हामीलाई आर्थिक कूटनीतिको साक्षी र सहयात्री बन्नु पनि छ। समयको यो दबाबलाई अब एनआरएनएले अझ गहिरो गरी बुझ्नु जरूरी छ।
अब कुरा गरौं नेपाल सरकार र राजनीतिक दलहरूको।
एनआरएनएलाई उपयोग र बलियो बनाउने मामिलामा नेपाल सरकार र नेपालका राजनीतिक दलहरूका पनि प्रशस्त कमजोरीहरू छन्।
आजसम्म पनि नेपाल सरकार र राजनीतिक दलहरूले यो संस्थालाई हल्का रूपमा लिएजस्तो देखिन्छ।
जति एनआरएनएको क्षमता र बल हो त्यसको दश पन्ध्र प्रतिशत पनि नेपाल सरकारले उपयोग गर्न सकेको छैन। नेपाल सरकारले गैरआवासीय नेपालीलाई आजसम्म पनि पराइजस्तो गरिरहेको छ।