'डिपोर्ट' भई आउनेहरूको कथा
फेरि ट्राई हान्ने हो अमेरिका! रहरै हो, जाग्यो। समुद्र नाघ्ने मन लाग्यो। बिदेसिनै परेपछि किन खाडी, मलेसिया जानु? त्यहाँ जान त समस्यै भएन। जतिबेलै जान सकिन्छ। आफ्नै भेगतिरका मान्छेहरूको प्रवृत्ति पछ्याउँदै अमेरिकै छिर्ने हो। चाहे पहाडको पाखो बेच्नु परोस् या तराईको दुई कट्ठा जग्गै फाल्न परोस्। हुँदा खाँदाको व्यवसाय त्याग्न परेनि, पोहोर किनेको नाइट बस सस्तैमा फ्याँक्न परेनि अमेरिकै छिर्ने हो। महिनौं लागोस् कि ज्यानै जोखिममा परोस्! कि छोरो रेलमा, कि छोरो जेलमा!'
यही सोचका साथ उनीहरूको यात्रा आरम्भ भएको थियो।
दाङका दुई, सल्यानका दुई, रोल्पाका तीन, र रूकुम पूर्वका पाँच गरी बाह्र जना।
उनीहरू समूह समूह गर्दै क्यारेबियन क्षेत्रको सेन्ट डोमिनिक अन्तर्राष्ट्रिय विमानस्थलमा थुप्रिए। त्यहाँबाट नेपालका लागि 'डिपोर्ट' (फिर्ता) हुनुअघि उनीहरूबीच चिनजान थिएन। बाटोमै जोडिँदै गए। चिनिँदै गए। तर सबैलाई एकअर्काको गन्तव्य थाहा थियो — सपनाको देश अमेरिका।
अमेरिका छिर्न पहिले पुग्नुपर्ने डोमिनिकन गणतन्त्र। त्यसअघि तान्जानिया।
नेपालबाट कोही अघिल्लो दिन, कोही पछिल्लो दिन, कोही दुई चार दिनपछि दुबई उड्नु तिनको अमेरिका यात्राको 'आगाज' थियो।
खुसीको पहिलो उडान काठमाडौंबाट भएको थियो, दुबईको तीस दिनको भिजिट भिसा लिएर। अधिकांश नयाँ पासपोर्ट बोकेर पहिलोपटक बिदेसिन लागेका उनीहरूमध्ये एक जना मात्र यसअघि विदेश गएका थिए। तीन जनाले त तीन महिनाअगाडि मात्र इ-पासपोर्ट बनाएका। उमेर बीसदेखि अठ्तीस वर्षसम्मका।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंका लागेर अध्यागमनले केरकार गरेछ।
तर उल्टै 'यत्रो खर्च भइसक्यो, हामीलाई रोक्ने? यो खर्च कसले बेहोर्छ? टिकटको पैसा खेर गए को जिम्मेवार' भन्दै कर्मचारीसँग झर्किए।
'परी आएको आफैं बेहोर्ने' स्वघोषणा गरेर प्रस्थान अनुमति लिएछन्।
यो त आफ्नै देश थियो, कर्मचारीसँग जिद्दी गर्न सकियो। र, जान सहज भयो। सबैतिर यसैगरी त चल्दैन।
यताबाट उडे। चार-पाँच घन्टामा दुबई पुगे। पाँच-छ दिन त्यतै बसे। घुमे। दुबईबाट तान्जानिया जाने बन्दोबस्त मिलाए। स्थानीय एजेन्टले डोमिनिकन रिपब्लिकमा पानीजहाजमा काम गर्ने भनेर सिम्यान कार्ड एक-एकवटा हातमा थमाइदियो।
सपनाको एक पाइला थप नजिक पुगेकोमा एक तह खुसीको पनि थपियो। दुबईको गर्मीमा पनि शीतल महसुस भयो।
तान्जानियाको दार-एस-सलाम विमानस्थल पुगे। नेपालीलाई अन-अराइभल भिसा रहेछ। तीन महिनाको भिसा लिए। तीन हप्ताजति बसे। स्पेनको मड्रिड हुँदै डोमिनिकन रिपब्लिक छिर्ने योजना बुने। मड्रिड जान कतारको दोहा जानुपर्ने, गए। भोलिपल्ट दोहाबाट स्पेनको मड्रिड पुगे।
मड्रिडबाट डोमिनिकन गणतन्त्रको राजधानीको सेन्ट डोमिनिक अन्तर्राष्ट्रिय विमानस्थल पुगे। सबै ठाउँमा सजिलै कहाँ छिर्न पाइन्थ्यो र? त्यहाँ नेपालको अध्यागमनभन्दा चर्को केरकार भयो। दुई दिन राख्यो। बुझ्नुपर्ने बुझ्यो। अन्तिममा डोमिनिकन रिपब्लिकको लागि 'लो-प्रोफाइल' भनेर आफ्नै देशमा फिर्ता पठाइदिने भयो।