भौचर दिएर पढाउन सकिन्छ विद्यार्थीलाई!

भौचर दिएर पढाउन सकिन्छ विद्यार्थीलाई!

कोरोना महामारी उत्कर्षमा पुगेका बेला मैले शिक्षण पेसामा रहेका दुई जनाको दैनिक गतिविधि अवलोकन गरेको थिएँ। ती दुई जनामध्ये एक सरकारी र अर्को निजी स्कुलमा माध्यमिक तहको शिक्षक थिए।

सरकारले लकडाउन घोषणा गरेको थियो। स्कुलहरू बन्द थिए। तैपनि निजी स्कुलमा पढाउनेलाई भ्याइनभ्याइ थियो। बिहान सबेरैदेखि बेलुका अबेलासम्म अनलाइनमार्फत पढाउनुपर्थ्यो।

पढाउने, गृहकार्य दिने र गृहकार्य जाँच गर्ने नियमित काम नै भयो। त्यसबाहेक अनलाइन कक्षा कसरी प्रभावकारी बनाउने, विद्यार्थीलाई कोरोनाको त्रासबाट मुक्त गर्दै उनीहरूको मानसिक स्वास्थ्य बिग्रिन नदिन के गर्ने, कसरी उनीहरूको जिज्ञासु स्वभाव बचाइ राख्ने लगायतका विषयमा अनलाइन गोष्ठी हुन्थ्यो।

सरकारी स्कुलमा पढाउनेलाई भने आनन्द थियो। लकडाउन भए पनि भित्रभित्रै उनीहरू एउटा घरमा जम्मा हुन्थे र दिनभरि रमाइलो गर्थे।

कोरोनाको समयमा मात्र होइन, सामान्य अवस्थामा पनि सरकारी र निजी स्कुलमा पढाउने शिक्षकको दैनिकीमा ठूलो अन्तर हुन्छ। यो मैले मात्र होइन, हामी सबैले सामान्य अवलोकनबाट थाहा पाएको र थाहा पाउन सकिने कुरा हो।

यहाँ प्रसंग शिक्षकबाट उठान गरिएको भए पनि बहुआयामिक कमजोरी हाम्रो विद्यालय शिक्षाका हुन्।

esewa
Laxmi bank

औसत सरकारी (सामुदायिक) स्कुलको शिक्षक र निजी (संस्थागत) को शिक्षकले गर्ने योगदान र उसले पाउने लाभ असामानुपातिक छ। शिक्षण पेसाको मात्र कुरा गर्ने हो भने सरकारी शिक्षकले विद्यालयलाई कम दिन्छन्, उनीहरूले बढी पाउँछन्। निजीमा शिक्षकले बढी दिन्छन्, कम पाउँछन्।

लाभ वितरणको यो अन्यायी परिपाटी हाम्रो समाजमा सबैतिर व्याप्त छ। संसद, सरकार वा सरकारले गठन गरेका विभिन्न समितिहरूबाट निर्धारण हुने लाभ वितरणको यो परिपाटीलाई हामी नैतिक भन्छौं। हाम्रो अर्थतन्त्रको केही सीमित क्षेत्रमा मात्र बजारले लाभ निर्धारण गर्छ जसलाई हामी अनैतिक भन्छौं।

यसलाई सच्याउन सकिन्छ। सच्याइयो भने योसँग जोडिएर आउने धेरै कुराहरू सच्चिन्छन्। यो लेखमा शिक्षा क्षेत्रको र त्यसमा पनि लगानीको पाटोलाई मात्र चर्चा गर्न खोजिएको छ।

बजार व्यवस्थासँग धेरै आर्थिक-सामाजिक समस्या समाधान हुन्छ। लाभ वितरणमा त झन् बजार व्यवस्था जत्तिको दक्ष, न्यायोचित र नैतिक विकल्प अर्को छैन। अरू विकल्प छन् तर ती बजार व्यवस्थाभन्दा खराब छन्। हामीले खराब प्रणाली अवलम्बन गरेका छौं।

गुणात्मक पक्ष थाती राखेर परिमाणात्मक हिसाबले हेर्ने हो भने नेपालमा पछिल्लो एक शताब्दीमा शिक्षा क्षेत्र विस्तार भएको छ। विद्यालय संख्या बढेको छ, विद्यार्थी बढेका छन्।

राणाकालमा औपचारिक शिक्षामा राणा परिवार र आसेपासेको मात्र पहुँच थियो। अहिले अधिकांश नेपालीका छोराछोरीले विद्यालयको मुख देख्न पाएका छन्। उनीहरूको सामाजिक तथा आर्थिक वर्गअनुसार शिक्षाको गुणस्तर भने फरक छ। कमजोर आर्थिक स्थितिका अधिकांश बालबालिका सरकारी विद्यालयमा पढ्छन्। यी विद्यालय बदनाम छन्, निजीको तुलनामा 'घटिया' शिक्षा दिन्छन् भनेर।

पछिल्लो पाँच वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा निजी स्कुलका ८७ प्रतिशत विद्यार्थीले ए प्लस/ए ग्रेड पाए भने सरकारी स्कुलका २८ प्रतिशतले मात्र यस्तो ग्रेड पाए।

सरकारी स्कुलमा प्राथमिक तहका कतिपय विद्यार्थी साँवा अक्षर समेत पढ्न सक्दैनन्। दुई अंक मिलेर बनेको संख्या राम्ररी चिन्दैनन्। बाह्र वर्षसम्म अंग्रेजी पढे पनि उक्त भाषामा ढुक्कले एउटा वाक्य राम्ररी बोल्न र लेख्न आउँदैन।

नेपाल सरकारले शिक्षामा थोरै पैसा खर्च गर्छ। त्यो थोरै पैसा पनि गलत तरिकाले खर्च गर्छ। त्यसैले शिक्षा क्षेत्र पिछडिएको हो भन्न सकिन्छ। शिक्षामा सरकारी पैसा कसरी खर्च गर्ने भन्ने सन्दर्भमा विश्वभर विभिन्न अभ्यास छन्। त्यस्ता अभ्यासमध्ये एक भौचर प्रणाली हो।

आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) का अनुसार विश्वभर ८८ (ओइसिडीका ३४ मध्ये २५ सदस्य) मुलुकमा कुनै न कुनै प्रकारको भौचर प्रणाली चलनमा छ। यो प्रणालीले विद्यार्थी (अभिभावक) लाई विद्यालय रोज्ने सुविधा दिने भएकाले यसलाई विद्यालय छनौट कार्यक्रम पनि भनिन्छ।

अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, क्यानडा, चिली, कोलम्बिया, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, आइसल्यान्ड, आयरल्यान्ड आंशिक वा पूर्ण रूपमा भौचर प्रणाली अँगाल्ने मुलुक हुन्। भारत, जापान, कोरिया, लक्जेमवर्ग, मेक्सिको, नेदरल्यान्ड्स, न्युजील्यान्ड, नर्वे, स्विडेन, स्विट्जरल्यान्ड, बेलायत र अमेरिकालाई पनि यो सूचीमा राख्न सकिन्छ।

यी मुलुकहरूमा विद्यालय भौचर प्रणाली कार्यान्वयन गर्ने तरिका एकनास छैन। केहीले विद्यार्थीले रोजेको कुनै निजी विद्यालयमा पढ्न भौचर दिन्छन्, केहीले धार्मिक विद्यालय, अल्पसंख्यक, पिछडिएको वा कम आय भएका विद्यार्थीलाई सेवा दिने स्कुललाई मात्रै भौचर प्रयोग गर्न दिन्छन्।

यो अवधारणामा सरकारले विद्यालय, शिक्षक–कर्मचारीको तलब, पाठ्यसामग्री, पोशाक, खाजा–खाना, छात्रावास लगायतमा पैसा खर्च गर्दैन। बरू यी सबै कामका लागि कति खर्च लाग्ने हो, त्यस बराबरको रकम विद्यार्थीलाई दिन्छ। विद्यार्थीलाई नगद भने दिँदैन। चेक (भौचर) दिन्छ। त्यस्तो भौचर विद्यार्थी आफूले रोजेको विद्यालयलाई दिन्छ। विद्यालयले शिक्षा कार्यालय (नगरपालिका/गाउँपालिका) मा भौचर पेस गर्छ र रकम भुक्तानी पाउँछ।

अर्थशास्त्रको भाषामा भन्दा यसले विद्यालय शिक्षाको माग पक्षमा जोड दिन्छ। स्कुल चल्नका लागि एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्छ। विद्यालयले बढीभन्दा बढी विद्यार्थी तान्न सक्नुपर्छ। विद्यालयले प्रदान गर्ने शिक्षाको माग समुदायमा हुनुपर्छ। यस्तो माग सिर्जना गर्न नसक्ने विद्यालय बन्द हुन्छन्। गुणस्तरीय सेवा प्रदान गरेर आफ्नो समुदायमा विद्यार्थी टिकाउन विद्यालय मात्र होइन स्थानीय सरकार पनि उत्तिकै सक्रिय भएर लाग्नुपर्ने हुन्छ।

माथि नै उल्लेख छ, भौचर प्रणालीको ढाँचा सबैतिर एक समान छैन। कुनै मुलुकमा राष्ट्रव्यापी भौचर प्रणाली लागू भएको छ भने कुनैमा निश्चित प्रदेश (राज्य) वा स्थानीय तहमा मात्र छ। यसैगरी कुनै भौचर प्रणालीले विद्यालय शिक्षासँग जोडिएका सबै गतिविधि (शिक्षण शुल्क, पाठ्यपुस्तक लगायत शिक्षण सामग्री, खाजा–खाना, पोसाक, छात्रावास) समेट्छ भने कुनैले यीमध्ये केही वा कुनै एकलाई मात्र समेट्छ। 

चिलीको विद्यालय भौचर प्रणाली सबैभन्दा पुरानो हो। अर्थशास्त्री मिल्टन फ्रिडम्यानको सुझाव अनुसार सन १९८१ देखि त्यो कार्यक्रम लागू भएको थियो। फ्रिडम्यानले चिलीको अखबार एल मर्कुरियोमा सन् १९७९ मा लेख लेखेर यस्तो सुझाव दिएका  थिए र पछि उनले धेरै अन्तर्वार्ता र भाषणहरूमा त्यसको बचाउ पनि गरेका छन्। 

छिमेकी मुलुक भारतमा राष्ट्रव्यापी नभए पनि विद्यालय भौचर प्रणाली अभ्यासमा छ। आन्ध्र प्रदेश, गुजरात, मध्य प्रदेश, राजस्थान, उत्तर प्रदेश, दिल्ली र पोन्डिचेरीमा विभिन्न ढाँचामा यसलाई कार्यान्वयनमा ल्याइएको छ। धेरैजसो प्रणाली शिक्षण शुल्क मात्रै बेहोर्ने र कम आय भएका अभिभावक लक्षित छन्।

आन्ध्र प्रदेशको 'अम्मावोधी कार्यक्रम' ले न्यून आय भएका परिवारलाई प्रति विद्यार्थी प्रति वर्ष १५ हजार भारू बराबरको भौचर उपलब्ध गराउँछ। सरकारले दिएको भौचर राज्यको कुनै पनि विद्यालयमा शिक्षण शुल्क तिर्न प्रयोग गर्न सकिन्छ। मध्य प्रदेश सरकारको 'परस्पर कार्यक्रम' ले सुकुम्बासी बस्तीका विद्यार्थीलाई प्रति वर्ष तीन हजार भारूको भौचर प्रदान गर्छ।