६ जना युवाहरूको 'लुहा'

६ जना युवाहरूको 'लुहा'

आजकाल बजारमा 'ट्रेन्डी' ब्यागको माग बढ्दो छ। विशेष गरी युवाहरू नयाँनयाँ डिजाइनका झोला बोक्न सौखिन देखिन्छन्।

बजारको मागअनुसार व्यवसायीहरू विदेशी मुलुकबाट थरीथरीका ब्याग भित्र्याउँछन्। कतिपय ग्राहकलाई नेपाली उत्पादनमा डिजाइनको विविधता छैन भन्ने लाग्छ। कतिपयमा नेपाली उत्पादन गुणस्तरीय हुँदैन भन्ने धारणा पनि छ।

यस्ता ग्राहकका लागि व्यवसायीले विदेशी उत्पादन बेच्छन्।

तीस वर्ष आसपास उमेरका ६ जना युवा व्यवसायीको एउटा टिम भने डिजाइनको विविधतासहित गुणस्तरीय ब्याग उत्पादन गर्न कम्मर कसेर अघि बढेको छ। 

टिममा कुशल अछामी, अजित भट्ट, चाँदनी महत, सुस्मिता अछामी, बिनु श्रेष्ठ र प्रमुदिता उदास छन्। 

उनीहरूले २०७९ चैतमा सुरू गरेको 'लुहा स्टुडियो' ले पछिल्लो ६ महिनादेखि विभिन्न डिजाइनका ब्याग उत्पादन गर्दै आएको छ।

त्यसमा पनि विशेष छ टोट ब्याग।

'टोटसँगै विभिन्न आठ वटा डिजाइनमा ब्याग बनाइरहेका छौं। किफायती मूल्यमा प्रिमियम ब्याग बजारमा पुर्‍याउनु हाम्रो लक्ष्य हो,' लुहा स्टुडियोका एक सञ्चालक कुशल भन्छन्, 'ग्राहकको संख्या बढ्दै गएको छ। व्यापार विस्तार हुँदैछ।'

luha-(1)-1695484632.jpgउनका अनुसार नेपालमै फेसनएबल र टिकाउ ब्याग बनाएर बजारीकरण गर्न उनीहरू प्रतिबद्ध छन्।

अजित, कुशल र चाँदनी कलेज पढ्दादेखिका साथी हुन्। लुहा स्टुडियो सुरू गर्नुअघि उनीहरू 'समसारा क्रिएसन्स' नामको कम्पनीमा थिए। अरू साथी पछि थपिएका हुन्।

समसारा २०७६ साउनमा सुरू भएको हो। यसले सामाजिक सशक्तीकरणका कार्यक्रम गर्छ। रिसाइकल (पुनः प्रयोग) सामग्रीबाट ब्याग बनाउँछ। समसाराकै सहकर्मीहरूको अवधारणामा लुहा सुरू भएको हो।

'लुहा स्टुडियोले समसारा क्रिएसन्समार्फत बिक्री हुँदै आएको ब्यागसहित थप सामग्री उपलब्ध गराउँछ। आफ्नै ब्रान्ड बनाउने हाम्रो योजना हो,' कुशलले भने।

समसाराबाट हुने कामसँगै कुशल र अजित आफ्नै ब्रान्ड स्थापना गर्ने विषयमा कुराकानी गर्थे। त्यसमा सुस्मिता पनि सामेल थिइन्। उनी समसाराको डिजाइनिङ हेर्थिन्। चाँदनी कम्पनीमा बिक्री प्रबन्धक र परियोजना सहयोगी थिइन्। यी सहकर्मीहरूबीच आफ्नै ब्रान्ड स्थापना गर्नेकुरा चल्यो।

कुनै नयाँ काम थाल्नेभन्दा पनि चालु कामकै ब्रान्डिङ गर्दै अघि बढ्ने सल्लाह भयो। यसैअनुसार लुहा स्टुडियोको ब्रान्डिङ सुरू भएको हो। समसाराले पहिले ब्याग बनाएर बिक्री गर्दा लुहा नामको उत्पादन थियो। कुशलका अनुसार त्यसैबाट लुहा स्टुडियो नाम जुरेको हो।

लुहाका सहकर्मी सञ्चालक अजित आफूहरू उत्पादनमुखी व्यवसाय गर्ने सोचले अघि बढेको बताउँछन्।

'उत्पादन विशेष, त्यसमा पनि नेपाली बजार लक्षित व्यवसाय गर्ने सोचसँगै लुहा स्टुडियो सुरू भएको हो। हामी बजारमा किफायती मूल्यमा प्रिमियम ब्याग बिक्री गर्दैछौं,' उनले भने।

लुहा स्टुडियोमा नौ सय ५० रूपैयाँदेखि दुई हजार चार सय ५० रूपैयाँसम्मका ब्याग पाइन्छन्। ब्याग औपचारिक र अनौपचारिक किसिमका तथा यात्राका लागि उपयोगी छन्। 

यी ब्याग कटन, जुट र हेम्प (गाँजाको रेसा) बाट बनाइन्छन्। कच्चा सामग्री नेपाली नै हो। ढाका कपडाको टाइ पनि बन्छ।

नेपाली कच्चा पदार्थ उपलब्ध नभएको अवस्थामा भारतबाट मगाउँछन्। गुणस्तरमा कुनै पनि सम्झौता नहुने उनीहरूको दाबी छ।

luha-(5)-1695484632.JPGluha-(4)-1695484632.JPG