हजार करोड कमाउने दुइटा फिल्मपछि शाहरूखको तेस्रो फिल्मको पोस्टर सार्वजनिक

हजार करोड कमाउने दुइटा फिल्मपछि शाहरूखको तेस्रो फिल्मको पोस्टर सार्वजनिक

चार वर्षको अन्तरालपछि सन् २०२३ मा दुईवटा सुपरहिट फिल्म दिएका बलिउड अभिनेता शाहरूख खानको तेस्रो फिल्म यसै वर्ष डिसेम्बर २१ मा रिलिज हुँदैछ।

शाहरूखको यस वर्ष रिलिज ‘पठान’ र ‘जवान’ दुवैले एक–एक हजार करोड भारूको कमाइ गरेर ऐतिहासिक रेकर्ड राखेको छ।

राजकुमार हिरानी निर्देशित उनको यस वर्षको तेस्रो रिलिज ‘डंकी’ ले यी दुवैलाई व्यावसायिक रूपमा उछिन्ने अपेक्षा वितरकहरूले लिएका छन्। संवेदनशील सामाजिक विषयवस्तुलाई लिएर हास्यप्रधान फिल्म बनाउन माहिर राजकुमारी हिरानीसँग शाहरूख खानको यो पहिलो फिल्म हो।

डंकीका अन्तर्राष्ट्रिय वितरकहरूले फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेका छन्, जसमा फिल्मको अन्तर्राष्ट्रिय रिलिज मिति घोषणा गरिएको छ।

फिल्मको पोस्टरमा शाहरूखको अनुहार देखिँदैन। उनी काँधमा ब्याकप्याक, हातमा झोलातुम्ला र ज्याकेट बोकेर अगाडि हिँडिरहेका छन्। पृष्ठभूमिमा युरोप, एसिया तथा मध्यपूर्वका थुप्रै मुलुकको नक्सा देखाइएको छ।





फिल्मको पोस्टरमा ट्यागलाइनसमेत छ, जसमा लेखिएको छ — अ सोल्जर्स जर्नी टू किप अ प्रमिस। अर्थात्, आफ्नो बाचा पूरा गर्न हिँडेका एक सिपाहीको यात्रा।

पोस्टरबाट शाहरूखले यो फिल्ममा एक सैनिकको भूमिका निर्वाह गरेको बुझिन्छ। यसमा तापसी पन्नूको पनि मुख्य भूमिका छ।

अन्तर्राष्ट्रिय वितरकहरूले सार्वजनिक गरेको डंकीको पहिलो पोस्टर शाहरूख खान, राजकुमार हिरानी लगायतले भने अहिलेसम्म सार्वजनिक गरेका छैनन्।