मापसे गरेर गाडी ठोकेको अभियोगमा दिलिप ताहिललाई २ महिना जेल

मापसे गरेर गाडी ठोकेको अभियोगमा दिलिप ताहिललाई २ महिना जेल

बलिउडका विभिन्न सुपरहिट फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका दिलिप ताहिललाई मादकपदार्थ सेवन गरी सवारी चलाएर दुर्घटना गरेको अभियोगमा दुई महिनाको जेल सजाय सुनाइएको छ।

मुम्बई अदालतले ६५ वर्षीय ताहिललाई पाँच वर्षअघिको एउटा घटनामा दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

सन् २०१८ मा दिलिप ताहिलको कार दुर्घटनामा परेको थियो। उनले चलाएको कारले मुम्बईमा एउटा अटोरिक्सालाई ठक्कर दिँदा एक महिला घाइते भएकी थिइन्।

घटनालगत्तै स्वास्थ्य परीक्षण गर्दा दिलिप ताहिलले मादक पदार्थ सेवन गरेर गाडी चलाएको पाइएको थियो।

पाँच वर्षदेखि सुनुवाइमा रहेको उक्त मुद्दामा अदालतले डाक्टरको स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा दिलिप ताहिललाई दोषी ठहर गरेको हो।





स्वास्थ्य परीक्षण रिपोर्टअनुसार दुर्घटना हुँदा ताहिल आफ्नो होसमा थिएनन्। उनको बोली लर्बरिएको थियो भने उनी खुट्टा पनि राम्ररी टेक्न नसक्ने अवस्थामा थिए।

दिलिप ताहिलले आमिर खानको डेब्यू फिल्म ‘कयामत से कयामत तक’ मा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका थिए भने शाहरूख खानको सुपरहिट ‘बाजीगार’ मा उनी खलनायकका रूपमा देखिएका थिए। उनले ‘कहो ना प्यार है’, ‘भाग मिल्खा माग’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन्।

उनको पछिल्लो फिल्म ‘आइबी ७१’ यसै वर्ष रिलिज भएको थियो, जसमा उनले पाकिस्तानी नेता जुल्फीकर अली भुट्टोको भूमिका निर्वाह गरेका थिए। उनले गत वर्ष रिलिज ‘माइन्ड दि मल्होत्राज्’ मा पनि काम गरेका छन्।