भारतका तीन ठूला हलले किन चलाएनन् थलापति विजयको फिल्म 'लियो'?
दक्षिण भारतीय अभिनेता थलापति विजय अभिनीत फिल्म 'लियो' आजदेखि प्रदर्शन भएको छ।
नेपालमा समेत यो फिल्म आजदेखि प्रदर्शन भइरहेको छ। तर भारतका तीन ठूला मल्टिप्लेक्स हलले फिल्म चलाएका छैन।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार भारतका तीन ठूला मल्टिप्लेक्स चेन पिभिआर, आइनक्स र सिनेपोलिसले फिल्म प्रदर्शन गर्न अस्वीकार गरेका छन्।
चार हप्ता मै फिल्म ओटिटी प्लेटफर्ममा प्रदर्शन हुने भएपछि पिभिआर, आइनक्स र सिनेपोलिसले प्रदर्शन गर्न अस्वीकार गरेका हुन्। १ अगस्ट २०२२ मा भारतीय मल्टिप्लेक्सले हलमा प्रदर्शन भएको आठ सातापछि मात्रै ओटिटीमा प्रदर्शन गर्न पाउने निर्णय गरेका थिए।
हलले फिल्मको हिन्दी संस्करण प्रदर्शन गर्न अस्वीकार गरेपनि तमिल संस्करण चलाउने बताएका छन्।
लोकेश कनगराजको लेखन तथा निर्देशन रहेको फिल्ममा थलापति विजय, सञ्जय दत्त, तृषा, अर्जुन, प्रिया आनन्द, मनसूर अलि खानलगायत कलाकारको अभिनय छ। फिल्ममा ललित कुमारको लगानी छ।