'प्रेम सबभन्दा ठूलो भ्रम रहेछ, मलाई नराम्रोसँग डुबायो!'

'प्रेम सबभन्दा ठूलो भ्रम रहेछ, मलाई नराम्रोसँग डुबायो!'

तुलसीपुर उच्च अदालतबाहिर चमेना गृहमा भेटियो मेरो स्कुले साथी।

आधा खुसी, आधा बेखुसी अनुहारमा मलाई सुनाउँदै थियो, 'प्रेम भन्नु नै संसारको सबभन्दा ठूलो भ्रम रहेछ यार! डुबायो, मलाई नराम्रोसँग डुबायो।'

अनुहारले झरी पार्न आँटेको थियो तर पनि उसले मन दह्रो बनाएर भरथेग गर्‍यो। आँसुले ठाउँ छाड्ने हिम्मत गरेनन्। 

'प्रेमको उत्पत्ति रमाउनका लागि भन्दा पनि मन दुखाउनका लागि भएको हो जस्तो लाग्छ,' चियाको सर्को तान्दै उसले भन्यो।

प्रेमका बारेमा उसको परिवर्तित दृष्टिकोणलाई उसले यसरी भोगाइबाट पुष्टि गर्‍यो। तीन वर्षअगाडि उसले जुन कुरालाई सुख र खुसीको मूल स्रोत मान्थ्यो, आज त्यो दु:ख र पीडाको व्युत्पन्न स्रोत बनेको छ। 

संसारका हरेक कुरामा प्रेमको बिम्व देख्थ्यो। अनि सागरमा पनि अटाउन नसकिने प्रेम उसले एउटै अनुहारमा अटाएको थियो। विवाहमा मलाई पनि बोलाएको थियो।  

म जान सकिनँ। तर फोनमा निकै उत्साहित थियो।

'उमेर ढल्केर बिहे हुँदा पनि खुसी छु यार, दोस्त मनले खाएको मान्छे पाइयो। यत्तिको माया गर्ने मान्छे मेरो जीवनमा कोही हुन सक्दैन।'

उसको उत्साहको उचाइ देखेर मैले सुझावभन्दा पनि बनावटी ढाडस दिएँ, 'हो यार, तँ संसारका भाग्यमानीहरूको सूचीमा पर्छस्। के गर्नु त संसारमा सबभन्दा धेरै खुसी भएको दिनको साक्षी बन्न सकिनँ। मलाई माफ गर।'

आज त्यही मान्छे, त्यही आवाज तर शब्द फरक छन्।

'गलत मान्छेलाई प्रेम गरिएछ यार, करिअर बनिसक्ने बेला डुब्यो।'

निराशाको एक टुक्रो बादल उसलाई पूरै छोएर दौडेको छ।

'बाँच्न पनि मन लाग्दैन।'

हिजो जीवन देख्ने मान्छेको अनुहारमा आज मृत्यु देखिरहेको छ।

जसलाई देख्दा शरीरका हरेक अंगअंगमा खुसी उत्पादन हुन्थ्यो आज त्यसैले आँसु र बह उत्पादन गरिरहेको छ। माया गर्नेले माया मात्रै गर्छ भन्ने भ्रमले साथीलाई कहिल्यै छाडेन। दु:खले पनि छाडेन। विवाहपश्चात प्रेममा एकलौटी हक स्थापित गर्न खोज्दा हुने अनेक दुर्घटनाले उसलाई पनि छाडेन। 

मान्छेको मन न हो, प्रेमले काकाकुल हुँदा एकधर्को सिन्दुरको त्रासमा को बसिरहोस्। 

'तैंले विवाहपछि प्रेममा एकलौटी गर्न खोज्नुको परिणाम हो,' म अलि कठोर बनेँ। 

उसले अनुहारमा रिस बोलाएर भन्यो, 'विवाह गरेपछि के मैले अरूलाई पनि प्रेम गर्ने अधिकार दिने त?' 

'उसले तँबाट प्रेमको पूर्ति महसुस गर्न सकिन भने दिनुपर्छ, जसरी तैंले पाएको छस्!' 

बहस विवादमा अगाडि बढ्ला भनेर ऊ सजग भयो। मैले एकतर्फी रूपमा निरन्तरता दिइनँ।

विवाहका तीन वर्षमध्येको दुई वर्ष उत्साहले बित्यो, मुस्कान र प्रेमले बित्यो। आलिंगन अनि स्पर्शले बित्यो। कहिल्यै आएनन् खाडल। आए पनि विश्वासको माटोले पुरिदिए।

तेस्रो वर्ष सुरू भएपछि सुरू भयो भ्रमको पर्दा च्यातिन। उसले घटनाको कारण संक्षेपमा सुनायो।

'बुढीलाई थाहा नदिएर उसको फेसबुकको पासवर्ड लिएको थिएँ। करिब एक महिना जसो मैले त्यसको चियो चर्चा गरेँ। साला मलाई मात्रै माया गर्छे भनेको त के के हो के के देख्न पाइयो यार। जति फेसबुकमा उसले गरेको च्याट हेर्दै जान्छु, त्यति बहुलाउँदै जान थालेँ। अफिसमा काम गर्न सकिनँ। घरमा राम्रो बोल्न सकिनँ। डिप्रेसन भयो अन्ततः एकदिन कुरा खोलेँ अनि आजबाट मुक्त हुँदैछु।' 

ऊ यस्तो मुक्तिको बाटोमा हिँड्दै थियो जहाँ उसले स्वतन्त्रता त महसुस गर्नेछ तर त्यसमा रमाउन सक्ने छैन। कुनै कुनै स्वतन्त्रता भन्दा त जेल नै सही! 

मैले प्रश्न गरेँ, 'संसार अटाउने प्रेममा एक दुइटा च्याट अटाउन सक्नुपर्थ्यो।'

उसले मलाई सुन्न चाहेन।

फेरि थपेँ, 'संसारमा कसैले पनि एक जनालाई मात्रै माया गर्छ भन्न सोच अतिवादी हुन जान्छ। बिहे गर्नु भनेको शतप्रतिशत एक जनालाई मात्रै माया गर्नु होइन।'

उसले फेरि सुनेन। 

मैले उदाहरण दिएँ, 'श्रीकृष्णको निधन हुँदा स्वेताको अवस्था बुझ न कस्तो थियो, अहिले त फरक छ नि!' 

उसको बेवास्ताका बीचमा पनि मेरो वाकयुद्ध रोकिएन।

'तैंले च्याट हेर्नुभन्दा अगाडि र पछाडिमा श्रीमतीको व्यवहारमा कुनै परिवर्तन देखिस् त?'

टाउकोले नाइँ भन्ने जवाफ मात्रै दियो।