'नेपाल फर्किन मनै छैन मलाई!'

'नेपाल फर्किन मनै छैन मलाई!'

'साँच्चै भन्नुपर्दा, मलाई नेपाल फर्किनै मन छैन!'

क्याफेमा बसेर सुनिरहेको थिएँ —

'म सम्झिन्छु त्यो दिन, तीन वर्ष अगाडिको, मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जब भुइँ छाडेँ, मन भारी भएको थियो। मुटु भक्कानिएको थियो। घरीघरी मलाई आफ्नो जन्मदाताबाट टाढा भएर बिरानो ठाउँ जानु छैन भन्ने लाग्थ्यो। म यहीँबाट नै फर्किन्छु जस्तो हुन्थ्यो।

सबैको याद, आफू जन्मेको गाउँ, बचपनदेखिका साथी, इष्टमित्र, आफू पढेको स्कुल; सबै कुरा एकैपटक दिमागको एउटा कुनाबाट अर्को कुनासम्म तीव्र वेगमा दौडिँदै, ठोक्किँदै थिए।

लाग्थ्यो — होइन, म किन विदेश जाँदै छु? आखिर के पाउन यो सबै कुरा यहीँ बिट मारेर जाँदै छु? के छैन यो देशमा?

तर फेरि लाग्थ्यो — आखिर के छ यहाँ?

हातमा प्रमाण-पत्र बोकेर दिनभरि मलाई जागिर दिनुस् न भन्दा अनुभव खै भनेको सुन्दा वाक्क परिसकेको थिएँ। लाचार भएर नोकरीका लागि हात जोड्दा-जोड्दा मेरा हात थाकेका थिए। यहाँ र त्यहा पुगेका हुनाले मेरा खुट्टाका प्रत्येक नशा फुलेका थिए।

म किशोर, युवा प्रमाणपत्र लिएर जाँदा 'अनुभव पुगेन बाबु तिम्रो, हामीलाई ५-१०-१५ वर्ष अनुभवी मान्छे चाहिएको छ' भनेर फर्काईदिन्थे।

दिनरात नभनी १८-१९ वर्ष यो देशको पढाइमा बिताएको मैले अनुभव कति बेला बटुल्ने?

अझ नेपालको पढाइको दौरान भोगेको अनुभव कसरी सुनाऊँ?

आखिर मैले आफ्नै देशमा केही गर्छु, अरूको देशमा आफ्नो अमूल्य समय बिताउँदिनँ भनेर सोचेकै हो। तर मैले सोचेर मात्र हुँदो रहेनछ।

यो विदेशमा आउनुभन्दा अगाडि भाग्यवस एक ठाउँमा नोकरी पाएको थिएँ। बिडम्बना, नेपालमा त्यस्तो नोकरीको सम्मान नै हुँदैन।

'ए सुन् त, फलानाले त बीस हजार कमाउँछ रे! के के नै पढेँ भन्थ्यो! बरू हाम्रो छोराले विदेशमा गाडी किनिसक्यो! अर्को वर्ष हामीलाई पनि लैजाने रे!' भनेको सुन्दा म आफ्नो पढाइका प्रमाण-पत्र हेर्थेँ। हिउँ परिसकेका बुवा-आमाको केश देख्थेँ। उनीहरूले देखेको सपना सम्झिन्थेँ। खिया लागेका हाड सम्झिन्थेँ।

आफूलाई नै धिक्कार लागेर आउन थालेको थियो। आखिर म के कुरामा चुकेँ? पढाइ सकेर एउटा ढंगको नोकरी गर्न सकिनँ। सरकारी नोकरी त गर्नै सकिनँ। आखिर १७-१८ वर्ष मेरा बुवाआमाले यो देशका शैक्षिक संस्थालाई बुझाएको एक एक सुका यही दिनका लागि हो?

अनि मैले त्यो सबै टुलु टुलु हेर्न सकिनँ। न म देशको व्यवस्थासँग एक्लै लड्न सक्थेँ, न केही गर्न। मेरो पढाइ र प्रमाण-पत्र मेरो देशले पत्याउन सकेन।

मेरो मनस्पटलमा विभिन्न कुराहरूको द्वन्द्व-प्रतिद्वन्द्व चल्न थाल्यो। निकै समय लाग्यो। अनि के गर्ने त भन्दा विदेश जाने कुराले सिधै कन्चट नजिकै बलकबलक गरिरहेको दिमागी भित्तामा चस्किने गरी छोयो।

कहिले पनि देश छोडेर प्रदेशमा आफ्नो पसिना बेच्दिनँ भन्ने मेरो मनभित्रको अडान एकै कम्पनमा छतविछत भयो। गर्ल्यामगुर्लुम्मै ढल्यो अठोट। उठ्नै नसक्ने गरी। कहिल्यै नउठ्ने गरी। मर्मत त के, मलमपट्टी पनि लगाउनै नमिल्ने गरी।

बाध्यताले नै सहरका हरेक एजुकेसन कन्सलटेन्सी धाउने मेरो दैनिकी बनिसकेको थियो। त्यही धाउने क्रममा मेरो दिमागमा धेरै कुरा खेल्न थाले। देशको स्थिति, युवा जमात बेचबिखन त आफ्नै अगाडि भइरहेको थियो। म पनि केही समयमा त्यहीँको एक सिकार बन्नेवाला थिएँ।

त्यहाँ भेटिएका युवाहरू भिसा लाग्दा एकदमै खुसी थिए। मानौं अर्को जन्म पाएका हुन्, संसार जिते जस्तो।

सायद कतै कतै मेरो मनमा पनि खुसीका ताराहरू रंगीचंगी हुँदै थिए। त्यही बखत धेरै सरकारी कार्यालय पुग्नुपर्ने अनि त्यहाँको व्यथिति, झमेला झन् खत्तम देख्दै थिएँ। केही समयपछि मेरो पनि भिसा आयो। मेरो मन आफैं हर्षित भयो। विदेश जान्नँ भन्ने मेरो फैसला फैसलामै सीमित भयो। भिसा आउँदा मलाई पनि अर्को जन्म पाएको अनुभूति भयो।

घरपरिवार सबै खुसी हुनुहुन्थ्यो, 'मेरो छोरा विदेश जाँदै छ' भन्दै।

टिकट काटियो, सर-समान किनमेल भयो। लगेज प्याकिङ भए। अनि निन्याउरो अनुहार र तरंगित मन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेटबाट भित्र हुइँकियो।

नयाँ देश, नयाँ सहर। नौलो परिवेश, नौलो कानुन। अनि ठूला ठूला मानव निर्मित संरचना। दिनको ठिक ३:३० मा यी आँखाले देख्ने अवसर पाएँ। लन्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ४ बाट बाहिर निस्किनसाथ।

ठूला बस अनि ट्राफिक नियम पालना गर्दै आफ्नो गन्तव्यतर्फ गुड्दै गरेका अनेक किसिमका गाडी।