मिसन विदेश!

मिसन विदेश!

‘सृष्टि अब ब्याचलर्सपछि के गर्ने?’ एक जना अंकलले सोध्नुभयो। 

ब्याचलर्सको नतिजा आएदेखि सायद यही प्रश्न नै सर्वव्यापी रूपमा सोधिएको होला। 

म कसैलाई, ‘हेरौं, खै के हुन्छ’ भन्छु त कसैलाई ‘जे सुकै होस’ भन्छु।

कतिले कस्तो भविष्यबारे चिन्ता नगरेको पुल्पुलिएको छोरी भन्लान् त कसैले सल्लाह सुझाव देलान्। दुबै पक्ष आआफ्नो ठाउँमा सही हो। 

मलाई अरूसँग विशेष केही गुनासो छैन। 

गुनासो छ त केबल आफूसँग। पहिला लाग्थ्यो धेरै समय छ मसँग सोच्न कि म भविष्यमा आफूलाई कहाँ देख्न चाहन्छु। तर अचेल म आफूलाई धेरै नै चिन्तित देख्छु। एउटा उमेर पुग्दैमा, अध्ययनको एउटा पाटो छुट्दैमा निर्णय लिने क्षमता बढ्ने हैन रहेछ।

आमाबुवा भन्नुहुन्छ, ‘हाम्रो पालामा यति धेरै अवसर थिएन त्यही पनि हामीले गरेर देखायौं। अहिले त जे छाने नि राम्रो छ।’ 

अहिले मूल्यांकन गर्दा लाग्छ सायद कहिलेकाहीँ धेरै अवसर नै घाडो हुने रहेछ। त्यसमध्ये अहिले जल्दोबल्दो अवसर हो ‘विदेश’।

फलानाका छोरा, फलानाका छोरी, फलानाका दुबै छोरी, दुबै छोरा छोरीहरू, मेरा कक्षाका आधा, मेरा अग्रज, मेरा भाइबहिनी, कार्यालयका अधिकांश, मेरा छिमेकी कि विदेश गएका छन्, कि जाने तयारीमा छन्। मलाई भने विदेशको सौख कहिले लागेन तर आजभोलि इच्छा जागेको छ। कारण मुख्यतया देशमा पूर्वाधार र अवसर नहुनु। 

मेरा अधिकांश स्नातक तह पूरा गरेका साथी कि त बेरोजगार छन् कि त आफ्नो एक्लो ज्यान पनि धान्न नसक्ने पैसामा खटिरहेका छन्। काठमाडौंको फोहोर पानी र धुलो खाएर महिनाको अन्तिममा हातमा लाग्यो शून्य! 

हुन त युवा जनशक्तिको प्रचुर सम्भावना बोकेका देश-भारत, नेपाल। सायद भारतमा धेरै जनसंख्या भएकाले होला देशबाट जति रित्ते पनि फट्को मारिरहेको छ। तर नेपाल? उफ् .. देशभक्ति अति नै छ। तर आमाबुवालाई मेरी छोरी त अमेरिका, अस्ट्रेलिया छे भन्दाको चमक देशमा बसेर भेट्न सकेकै छैन। फलानाकी छोरीले महिनामा मासिक एक लाख पठाउँछे अस्ट्रेलियाबाट भन्दा र एक्कासि विदेश गएका परिवारको जीवनस्तर उक्सेको देख्दा त जलन र विदेश जाने इच्छा तीव्र भैहाल्छ। 

आखिर पढाइ यताउता भनेको पैसा कमाउन नै त हो। 

कति धेरै पढेको भन्दा सफलताको मूल्यांकन कति कमाएको भन्ने मै हुन्छु। ‘टपर भएर के गर्नु, हाम्रो कक्षाको फेल हुने रमेश भन्दा कम तलब खान्छे, पढाइ मात्रैले सफलता मापन नगर्ने रहेछ।’ भनेर मैले कतिको सुनेकी छु। नेपालको पढाइ त मोटामोटी थाहा भइसक्यो।

सबै जना विदेश गएको देखेर एक प्रकारको ‘फोमो’ पनि पैदा भएको छ। यो भागदौडमाम म छुट्ने पो हो कि? सधैं यही कुवामा जिन्दगी बिताउनु पर्ने पो हो कि? मैले मेरा भावी सन्तान र मेरो अमूल्य अवसरलाई विचार नगरेको जस्तो हुने पो हो कि? यत्रो वर्ष नेपालमै बसें, …विदेशी जीवन पनि जिउन पाए, जिन्दगीमा धेरै कुराको अनुभव हुन्थ्यो।