चाहेर पनि त्यसरी जमघट हुन सकिँदैन अब!

चाहेर पनि त्यसरी जमघट हुन सकिँदैन अब!

बीस वर्षअगाडि अन्तिमचोटि गाउँको घरमा मनाएको दसैंको याद गर्न पनि गाह्रो हुन लागिसक्यो।

क्षितिज पारि देखिने बादलका धर्साहरू जस्तै ती क्षणका धमिला धर्साहरू यस मानसपटलबाट मेटिइहाल्न चाहिँ सकेको छैन। यो बीचमा घरदेश र परदेश आउजाउका क्रममा विभिन्न आरोह अवरोहहरू भए।

समय बित्यो। मान्छे फेरिए। बच्चा तन्नेरी भए। तन्नेरी विदेश या सहर बजार गए। प्रौढहरू वृद्ध भए। वृद्धवृद्धाहरूमध्ये पनि कतिपय यस धर्तीबाट बिदा लिएर परलोक गइसके।

गाउँठाउँ फेरियो। आफू खेल्ने घुम्ने ती खोला, बगर, जंगल खेतबारी अब बिराना भए। बचपनमा सँगै खेले पढेका साथीभाइहरू पनि बिरलै भेटिन्छन्।

यस बीचमा निस्दी खोलामा धेरै पानी बगिसकेको छ र त्यो क्षण फेरि नदेखिने गरी अतीतको पर्दाभित्र लुकिसकेको छ। स्मृतिको धरातलमा अवतरण गरेर नियाल्दा अब त ती पलहरूको याद गर्न पनि मुस्किल हुन लागिसक्यो। त्यति बेला समय अर्कै थियो, अहिलेको जस्तो एक्लै आफू आफैंमा हराउने भर्चुअल दुनियाँ थिएन।

बरू रेडियोमा बज्ने मंगल धुनले पनि दसैं पक्कै आएछ भन्ने लाग्थ्यो। दसैं आउन लागेपछि वर्षा याममा बिग्रेका र झाडीले ढाकेका गोरेटो बाटोहरू चौडा पार्ने मर्मत गर्ने, दसैंका लागि भनेर किनमेल गर्नेको लर्को, अनि गाउँघरमा स्वदेशी सहर या विदेशमा गएकाहरू फलानो आयो ढिस्कानो आउँदैछ, फलानो त यसपाली आउँदैन रे भन्ने चर्चा परिचर्चा चल्थ्यो।

लेकालीहरू घर लिपपोत गर्न अलिक छिट्टै रातोमाटो लिन डोको बोकेर लस्करै लागेर आउँथे। हामी वरपरका या फाँटमै हुनेहरूलाई रातोमाटोको समस्या नभए पनि सेतो माटो चाहिँ रातिको समय पारेर खोला पारिको पहिरोमा चोर्न जानुपर्थ्यो। दिउँसो गएर कमेरो ल्याउँला भन्नु पर्दैन थियो।

दसैंमा आमाहरू अलिक व्यस्त हुने हुनाले अरू दिन आमाहरूले गर्ने काम हामीले गर्नुपर्थ्यो। दसैंमा हामी आफैं घरका भित्तामा कमेरो र झ्याल ढोकामा कालो रङ लगाउँथ्यौं। आमा र भाउजूहरू दसैंको दुनाटपरीका लागि भनेर डोको बोकेर सालको पात टिप्न जानुहुन्थ्यो। हामी दसैंको छुट्टीलाई स्कुलबाट दिएको गृहकार्य रातदिन गरेर एक-दुई दिनमै सकेर पढाइको तनावबाट मुक्त भएर बस्थ्यौं।

दसैंको छुट्टीमा हामी गोठालो जान्थ्यौं। घरको अँध्यारो कुनामा छरेको जमरा केही दिनमै कसको घरमा कति उम्रेछ भनेर हेर्ने र दाँज्ने गरिन्थ्यो। बिहान उठेदेखि रातिसम्म पिङमै झुन्डिन मन लाग्ने, जति खेले पनि धोको नपुग्ने उमेर थियो त्यो।

दसैं आउनुअगाडि देखि नै गाउँघरमा रोटे र लिंगे पिङ हाल्ने या मर्मत गर्ने चर्चा हुन्थ्यो। लिंगे पिङका लागि भने प्रायः गाउँका भाइसाथीहरूले ठूलो एकादशीमा केलादिमा तारेको तोरण बेलुकी बजार सकिने बेलातिर अर्को सालको दसैंमा पिङ हाल्न भनेर काटेर ल्याउँथे। त्यसैले काम चल्थ्यो। लिंगो गाड्नु पनि पर्दैन थियो।

आँप या पिपलका ठूला रूख नै हुन्थे। दसैंबाहेक अरू दिन भने प्रायः बेलुकी घरको सबै काम सकेपछि मात्रै रोटे पिङ खेल्न जान्थ्यौं। दसैंमा कहाँ जाने भन्ने सबैका योजना हुन्थे। तर हाम्रो मामाघर अलिक टाढा भएकाले हामी बिरलै जान्थ्यौं।

अरू मामाघर गएको देख्दा नरमाइलो चाहिँ अवश्य लाग्थ्यो। हाम्रो बुवाहरू छुट्टिए पनि दसैंको कारोबार सबै सगोलमै हुन्थ्यो र त्यसको खटनपटन हजुरआमाले गर्नुहुन्थ्यो।

हाम्रो दुई परिवारलाई एकताको सूत्रमा बाँध्ने धरोहर हुनुहुन्थ्यो हजुरआमा। अहिले त्यो ठूलो परिवार छिन्नभिन्न भएर पृथ्वीको ओल्लो ध्रुवदेखि पल्लो ध्रुवसम्म बाँडिएको छ। अब चाहेर पनि त्यसरी जमघट हुन सकिँदैन। नेपालमै हुनेहरू पनि छरिएर बसेकाले वर्ष दिनको दसैंमा भेट हुन पनि मुस्किल हुन लागिसक्यो। 

हाम्रो घरमा प्रायः सबैजसो शाकाहारी भएकाले खसी काट्ने चलन थिएन। त्यसैले घरमा दूध र घिउ प्रयोग हुने अरू परिकार बन्थे। साथीभाइहरूले भने मासु नखानेलाई त दसैंको के नै रमाइलो पो होला र भन्थे। हामीलाई भने त्यस्तो लाग्दैन थियो। घरमा मासु नखाने भन्दा मासु खाने सदस्य निकै कम भएकाले खसीको मासु बाहिरबाट ल्याएर पकाउनु पर्थ्यो।

राति तीन-चार बजेदेखि नै मट्टीतेलको बत्ती बालेर आमा, सानिमा, दिदीबहिनी, भाउजूहरू भिजाएको चामल लिएर ढिकीमा पिठो कुट्न व्यस्त हुनुहुन्थ्यो। उज्यालो हुँदा रोटी पकाउने सबै पिठो तयार भइसक्थ्यो।

पहिले बुवाले दसैंको शुभ साइतमा बन्दुक पड्काउनु हुन्थ्यो। साइत सुरू हुनुभन्दा पहिले नै सबैजना मन्दिरमा जम्मा हुन्थ्यौं। टीका लगाउन हामी दुई घरका जम्मा हुँदा मन्दिरमा बस्ने गराली समेत खाली हुँदैनथ्यो। हाम्रो घरमा जेठोबाट टीका लगाइदिने हुनाले सबैभन्दा पहिले बुबाको पालो हुन्थ्यो। हजुरआमाले बुवालाई टीका लगाएपछि बुवा र हजुरआमाले काकालाई अनि कान्छोतिर पालो जान्थ्यो। प्रत्येक जनालाई गोडामा ढोग्नुपर्ने हुनाले झनै घुँइचो हुन्थ्यो।

टीका लगाइदिँदा खासगरी हजुरआमाले सुरूमा 'भगवती देवीको आशीर्वादले आयु पूरा होस्, रोगव्याध नलागोस्, सबैको गन्यमान्य होस्' भन्दै जसको जस्तो बानीबेहोरा छ, उसलाई त्यस्तै खालको आशीर्वाद दिनुहुन्थ्यो। टीका लगाएका बेला पनि आफ्नो नराम्रो बानी सबैले सुन्ने गरी कोट्याएको देख्दा कता कता नमज्जा समेत लाग्थ्यो।

हाम्रो घरमा सबै टीकाटालो सकिएपछि हजुरआमा बाहेक हामी सबैजना वरपरका हजुरबा, काका, ठूलाबाको घर टीका थाप्न जान्थ्यौं। घर आएर खाना खान्थ्यौं अनि मात्रै टाढाटाढा मावली, माइती, ससुराली जाने तयारी हुन्थ्यो।

त्यो बेला यातायातको