'एउटा घर-घडेरी जोड्न नसक्ने कस्तो जागिर खान्छौ?'

'एउटा घर-घडेरी जोड्न नसक्ने कस्तो जागिर खान्छौ?'

'अरू विषयमा निकै लेख्छौ बहिनी! मेरो भोगाइजस्तै भोगाइ हुनेहरूको बारेमा पनि कलम चलाउन त!'

केही समयअघि एक जना दाइले लेखको विषयवस्तु उठान गरे।

दाइको प्रस्ताव सहजै स्वीकारेँ।

मुखियाबाट सरकारी जागिरमा पाइला चालेका ती दाइ अहिले अधिकृत भएका छन्। छोरो अधिकृत (गाउँघरको भाषामा भन्दा हाकिम सा'ब) बनेपछि छोरोभन्दा खुसी त बाउआमा बनेका थिए।

'अब छोरो अधिकृत भयो, सहरमा घर घडेरी जोडिहाल्छ, हामी बुढाबुढी एक्लै कति गाउँमा बस्ने? छोराले सहरमा लैजान्छ, अरू छिमेकीको जस्तै हाम्रो पनि सहरमा घर हुन्छ..' यस्तै यस्तै।

अधिकृत नबनेसम्म बिहे नगर्ने दाइको अठोट थियो, अधिकृत बनेपछि मात्रै बिहे गरे।

'बिहेमा जतिसुकै खर्च कटौती गर्छु, बचाउँछु भन्दा पनि चार–पाँच लाख खर्च भयो,' कुरैकुरामा दाइले सुनाए। 

'दुई जना दिदीको बिहेको अलिअलि ऋण बाँकी नै थियो, त्यसैमाथि आफ्नो बिहेको भार थपियो। मेरो मन त चट्ट मन्दिरमा जाने सिन्दुर-पोते गर्ने बेहुली भित्र्याउने थियो। तर समाजले यसरी गलाउँदो रहेछ कि नचाहँदा नचाहँदै पनि भूमरीमा परिने। भाइ सानै छ, जिम्मेवार छोरा मै हुँ, दिदीहरू बिहेवारी भएर गइसके, भाइको जिम्मा मेरै काँधमा छ, घरको व्यवहार मैले हेर्नुपर्छ, बाआमाको महत्वाकांक्षा त यथास्थानमा छँदैछ।'

'बिहे गरेपछि श्रीमतीको जिम्मा पनि स्वाभाविक रूपमा थपियो नै। श्रीमतीको र मेरो पारिवारिक आर्थिक हैसियत समान भएकोले पनि अनावश्यक मागको झमेलामा भने बस्नु परेन यो आफ्नो लागि अहोभाग्य नै मान्नुपर्छ,' दाइले लामै बेलिबिस्तार सुनाए।

दाइको आयस्रोतको बाटो एउटा थियो र त्यही आयस्रोतको विनियोजनको हिस्सा भने लामै थियो।

दाइ सहरमा मासिक दश हजार कोठा भाडा तिरेर बस्छन्, भाउजू  ब्याचलर पढ्दैछिन्।

'श्रीमतीको पढाइ खर्च भर्नैपर्‍यो, सानो भाइ नौ कक्षामा पढ्छ, चाडवाडमा दिदी,भिनाजू, भान्जाभान्जीहरू, माइती, मावली आउँछन्। दिदीहरूलाई पनि अधिकृत भएको भाइबाट अरू बेला नभए पनि चाडवाडमा नदेखाए पनि भित्री आत्मामा आशा लाग्छ नै, जागिरे माइती मै हुँ।

छरछिमेकमा पनि अधिकृतको हैसियत मेन्टेन गर्नैपर्छ। एकातिर बनाउन खोज्यो अर्कातिर भत्किसकेको हुन्छ। कतिपय सहकर्मीहरुको चमकधमक देखेर आफैंलाई उदेक लाग्छ। कहाँबाट कसरी कमाउँछन् ?

उनीहरूको र मेरो हैसियत त तह अनुसार समान हो, उनीहरू र मैले महिना मर्दा थाप्ने तलब उही हो, तै पनि किन यति शान छ उनीहरूको यही सोची साध्य छैन', दाइले गुनासोको लामै पोयो फुकाए।

'सामान्य पहिरनमा हिँड्न पनि पदले दिँदैन, हाकिम साब भएर यस्तो के लुगा लाको हो? अरूका लागि राम्रो पहिरनमा सजिनुपर्छ। मदिरा पिउने बानी छैन। तै पनि साथीहरूले कर गर्छन् जबरजस्ती नै गर्छन्। किन नखाएको? पैसा हामी नै दिउला भन्छन्। उनीहरूका यस्ता प्रश्नहरू बारम्बार तेर्सिरहन्छन्। आजकाल त्यति वास्ता पनि लाग्दैन।

एकाध साथीहरू जग्गा कारोबारमा खुंखार छन्, कोही भने सेयर बजारका  हर्ताकर्ता। दिनको, मिनेटको सम्म हिसाब किताब राख्छन् र कारोबार गर्छन्। आफ्नो यो खुबी पनि भएन। दायाँबायाँ केही सोचिएन, लोक सेवा भनेर जिउ फालेर ठूलठूला ठेली पढियो, जिम्मेवारी अनुसारको काम गरियो, जागिर खाउन्जेल त्यही गरिन्छ,' दाइले वास्तविकता उजागर गरे।

दाइले अघिल्लो वर्षको एउटा खड्किएको घटना सुनाए, 'पोहोर सालको दसैंको एउटा घटना निकै नराम्रोसँग बिझ्यो मनमा। हप्ता दिन अघि टिकट काटेर सुरक्षित बनाएको सार्वजनिक बसको सिटमा बसेर दुई जना (श्रीमानश्रीमती) घर जाँदै थियौं। मभन्दा एक सालपहिले अधिकृत भएको एक जना दाइ सानले नगरपालिकाको गाडीमा हुइँकिएर घर पुगेका रहेछन्।

आफू भने सार्वजनिक बसमा धुलैमैलै भएर घर जाँदै थिएँ। 

बाटोमा एक जना काका भेटिए। काकालाई गोडामा ढोगेँ। आशीर्वाद दिनुको साटो काका त मलाई देखेर खिस्रिक्क पो परे।'

'के हो भतिज, तेरो पारा? हाकिम सा'ब पनि हामीजस्तै गरेर बसमा पो आइछस् त? हिजोमात्र माथिल्ला घरको कान्छो त आँगनसम्मै सरकारी गाडी हुँइकाएर आयो। तेरो अफिसले गाडी दिन्न र?' 

यस्तै यस्तै दर्जनभन्दा बढी काकाको प्रश्नको उत्तर दाइसँग थिएन।

'मेरो कहाँ गाडी घरसम्म आउँछ त काका? दाइ भनेको दाइ नै हो नि, उहाँको जस्तो मेरो शान यति छिट्टै कहाँ हुन सक्छ र? सरकारी नै भए पनि फरक फरक अफिसको नियम पनि फरक फरक हुन्छ काका,' यति भनेर दाइ घरतिर लागेछन्।

'मनमा भने धेरै कुरा खेलिरहे। अधिकृत हुनासाथ के के न भएजस्तो किन सोचिन्छ? घरमा आफन्तहरू आए, दसैंको रमझम रमाइलोमै बित्यो।

आफ्नै भिनाजुले छेड हाने, 'हेर साला केटा तँ भन्दा दुई सालअघि  हाकिम भएका तेरै छिमेकीले बाआमालाई सहरमा लगिसके, आफ्नै घर बनाएर राखेका छन्। एउटै जागिर होइन र उनीहरूको र तेरो? यत्रो वर्ष जागिर खाएर एउटा घर घडेरी जोड्न सक्दैनौ भने के जागिर खान्छौ? कस्तो जागिर हो? तँ मुखिया भएदेखि आज सम्मको अवधि जोड्यो भने त दश वर्षभन्दा बढी भयो त जागिर खाको पनि, यत्रो समयमा कहीँ केही जोडेको छैन त? यस्तो उभो नलाग्ने पाराको जागिर खानुभन्दा बरू व्यापार गरेको भए जितिने रहेछ, एउटा व्यापारीले वर्षमै कति कमाउँछन्।' 

भिनाजुको कुराले दाइ अवाक बने।

'महिनाको एकदिन आउने तलबले कहाँकहाँ कसरी पुर्‍याउनु भिनाजु? तपाईं आफैं भन्नुस् न, दायाँबायाँ गर्नेहरूले जग्गा, घर सबै जोडे होलान्, कतिको पैतृक सम्पत्ति पनि होला, सबैको एकनास कहाँ हुन्छ र? घर, जग्गा जोड्न नसकेकोमा कुनै पछुतो छैन भिनाजु, आफ्नो हैसियत अनुसार जोहो गरेकै छु।'

'हजारमा थाप्ने तलबले लाख पर्ने जग्गा, करोड पर्ने घरको बारेमा कसरी सोचूँ? दुई नम्बरी गरेर आर्जन गरेका सम्पत्तिमा सोझा बाउआमालाई शानको जिन्दगी बिताएको देखाउने चाहना छैन।'

दाइको पुष्ट्याइँमा भिनाजू केही पनि बोलेनन्।

'हाम्रो सालोजस्तै सबै इमानदार भइदिए त किन यस्तो हुन्थ्यो र? तेरो इमानदारिता कस्ले तौलिन्छ र बाबै? यहाँ जाली, फटाहाको बोलवाला हुन्छ, समाजकासामु उनीहरू नै हाइहाइ छन्, विचरा भएर केही हुनेवाला छैन। बेलैमा सोच, सोझो औंलाले घिउ आउँदैन भने औंला बङ्ग्याउन सिक्नुपर्छ। जागिर खाएको दुई तीन वर्षमा मान्छेले कति प्रगति गरिसके, ऊ भने आर्दश र इमानदारिताको प्रवचन दिन्छ।' 

भिनाजुको असन्तुष्टि अझै कम भएको थिएन। तैपनि दाइले कुनै वास्ता गरेनन्।

भिनाजु मात्रै होइन सबै आफन्तको समान प्रश्न हुन्छ, यत्रो वर्ष जागिर खाएर केही जोड्न सकिनस्?

'दसैंमा पाएको दुई महिनाको तलबले घर आउन जान, आफन्तलाई लुगाफाटो, मरमसला र टिकाटालोमै सकिन्छ। धन्न इमानदार श्रीमती भाग्यमा जुरेको रहेछ र साथ पाएको छु। आफन्तले जे भने पनि श्रीमतीले साथ दिन्छिन्। श्रीमतीका ऊर्जाशील कुराले मलाई राहत मिल्छ।

हामी श्रीमानश्रीमती खुसी छौं। आफ्नै घर, जग्गा नभएकोमा श्रीमतीको गुनासो छैन। गहना बेचेर खर्च धान्ने श्रीमतीका अनावश्यक माग छैनन्। जसरी हुन्छ मितव्ययी बन्नुपर्छ भन्ने उनको विचार छ तर आफन्तलाई कसरी खुसी तुल्याउने? कसको घर देखाएर ल बाआमा तिम्रो छोराको कमाइ यही हो भनेर खुसी तुल्याऊँ? कसको जग्गामा लगेर ल भिनाजु तिम्रो सालाको कमाइ यही हो भनेर थमाइदिऊँ? आफ्नो हैसियत आफैंलाई थाहा छ, सुख्खा तलबले कसरी गुजारा हुन्छ भन्ने भुक्तभोगी म जस्ता सीमित कर्मचारी छौं।

भोलि बालबच्चा भएपछि खर्चको ग्राफ झनै थपिने हो।

समाजलाई मेरो हैसियत सामान्य कर्मचारीको मात्र हो, एक जना दाइ भाइले कार लिएर घरमा आयो भन्दैमा मलाई तेरो गाडी खै नभन्नुस्।

कोही साथीभाइ आफन्तले मेरो जस्तै जागिर खाएर घर घडेरी जोडे भने तैंले के गरिस् जागिर खाएर? तेरो कस्तो जागिर हो ? यत्रो वर्षसम्म जागिर खाएर केही गर्न नसक्ने ? नभन्नुस्।

कोही सरकारी गाडीमा आँगनमा पुग्दा तेरो अफिसमा गाडी छैनन् कि क्या हो नभन्नुस्।

जागिर खाँदै जादा, गाउँको घर जग्गा बिक्री भएछ भने, सञ्चय कोषबाट ऋण लिएर, जागिर अवधिसम्म भुक्तान गर्न सक्ने आत्मबल देखिएछ भने मैले पनि मेरा बाआमालाई सहरमा घर बनाएरै राखौंला। तर अहिलेलाई माफ गर्नुस् बाआमा, दिदीभिनाजु, काकाकाकी तपाईंको छोराले केही गर्न सक्दैन। जति गर्न सक्छ भाडाको घरमा बसेर पनि गरिरहेको छ, गरिरहन्छ।'

'गर्न त खरिदारको जागिर खाएकाहरू पनि सानको जिन्दगी जिएका छन्। राम्रो आर्थिक हैसियत बनाएका छन्। आलिशान महल बनाएका छन्। आफ्नो मासिक तलबभन्दा बढी स्कुल फी तिरेर छोराछोरी पढाएका छन्। आफन्तलाई वाह! भन्ने बनाएका छन्। तर त्यसको पछाडिको पाटो त्यति उज्यालो छैन।

एकदिन त्यो कालो जालोले आफ्नो ठाउँ छोड्यो भने सिसा टलक्क टल्किन्छ अनि सबै कुरा ऐना हेरेजस्तै हुन्छ। ठूलो महल आँखाले देखिन्छ तर त्यो महल उसले कसरी ठड्यायो भनेर कसैले देख्दैन।

उसकै दाँजोमा आफ्ना सन्तानको हैसियत दाँजिन्छ, कम्तीमा यस्तो काम नगरौं। चिल्ला गाडीमा हुँइकिएको सबैको नजरमा पर्छ तर त्यो चिल्लो कार जोड्न कति खस्रा काम गरे होला भनेर कसैले खोज्दैन।

त्यसैले म पटक पटक भन्छु दुई-चार दिनको चमकधमकको पछाडि नलाग्नुस्। मेरा आफन्तजन, परिश्रमको कमाइको महत्व हुन्छ, त्यसको फल ढिलो लाग्ला तर स्वादिलो हुन्छ।

महिना मर्दा पाउने हजारको तलबले सहरमा आनाको लाखौ पर्ने जग्गा कसरी आँटौं? भारी त आफ्नो थाप्लोले थेग्नेसम्मको मात्रै बोक्ने हो नि होइन र?

अब यो प्रश्नको जवाफ पाउन मैले कुन धन्दा सुरू गरौं त? मलाई जबर्जस्ती भ्रष्टाचार गर्न, नीच काम गर्न विवश नबनाउनुस्, कुनै ट्याग नलागिकनै जागिरे जीवन बिताउने चाहना छ।

अहिले मेरो कमाइले सहरमा घर घडेरी जोड भन्नु त कमेडी च्याम्पियनको दले दाइले हर्लिस्कको बट्टामा दरबारमार्गको जग्गा बिक्री गरेजस्तै हो।

सहरमा एउटा घर घडेरी जोड्न नसकेको निरीह, कमजोर, केही गर्न नसक्ने हुतिहारा, नामर्दको पगरी गुथाउने होइन, इमानदार र लगनशीलताले जागिर खानु भन्नुस्।

आमाको गलाको तिलहरी, कानका  ढुंग्री ,हर्पेको भाडाँको घिउ, मावलीले दिएका बाख्राका पाठा बेचीबेची पढेर यहाँसम्म आइपुगेको छोराले बाआमालाई पक्कै भोकै राख्दैन। दिदीभिनाजु, भान्जाभान्जीलाई माइती, मावली, ससुराली आउँदा निराश पार्दैन। मेरो यो विश्वासलाई कमजोर नठान्नुस्।

घर घडेरी जोड्न नसके पनि कसैको कृपादानमा यो जागिर पाएको होइन, मिहिनेतले पुगेको यो पदमा म निकै खुसी छु।'