काठमाडौंमा पनि जातीय विभेदको पछौटेपन देखेर दिक्क लाग्छ!
मेरी हजुरआमा उमेरकी महिलाले मलाई भनिन्, 'नानी, हामी त कसैले छोएको पानी खाँदैनौं। फलानो धर्म मान्छौं। तपाईंलाई कोठा दिन सक्दैनौं। अर्को ठाउँमा खोज्नुहोस्।'
त्यही धर्मका ईश्वरको माला लगाएकी ती हजुरआमालाई मैले सोधेँ, 'तपाईंले मानेका भगवानले पनि जातको विभेद गर्नू भन्छ?'
अनि थपेँ, 'सिधै भन्नु न, तिम्रो जातकालाई कोठा दिन्नँ भनेर।'
यति भनेर म त्यहाँबाट हिँडेँ।
यही भदौको कुरा हो। मलाई डेराकोठा चाहिएको थियो। काम गर्ने अफिस आउजाउ गर्न सजिलो पर्ने गरी कोठा खोज्दै थिएँ। ललितपुरको भैंसेपाटीतिर उचित लागेको थियो। ती हजुरआमाको घर भैंसेपाटीस्थित रेडियो नेपालको टावरपछाडि थियो।
त्यो दिन भैंसेपाटीमा कोठा खोजिदिने एक जना दाइले फोन गरे। अफिसको काम सकेर उनले बोलाएको ठाँउमा पुगेँ। एक जना दिदी बाटामा मकै पोल्दै थिइन्। एक घोगो मकै किनेर आधाआधा खायौं।
दाइले भने, 'नानी, ऊ त्यो घर गज्जबको छ। कोठामा घाम आउँछ। घरबेटी पनि राम्रा छन्। घरभाडा पनि मिलाइदिन्छु भनेका छन्। शान्त छ।'
कोठा राम्रो छ भन्ने कुराले खुसी लागे पनि पाउनेमा म ढुक्क थिइनँ। लगातार तीन हप्तादेखि भैंसेपाटी क्षेत्रमै कोठा खोज्दै थिएँ। सुरूमा राम्रै कुरा भए पनि मेरो नामथर सुनेर तीन जना घरधनीले मलाई पन्छाएका थिए।
हामी मकै खाँदै, गफ गर्दै ती हजुरआमाको घरमा पुग्यौं। कालो रङको गेटभित्र बाटो नै छेकिने गरी राता फरिया सुकाइएका थिए। पानी चुहिँदै गरेका फरियाबाट तर्केर हामी कोठा हेर्न माथिल्लो तलामा पुग्यौं। दाइले हजुरआमालाई बोलाएर कोठाको ताल्चा खोल्न लगाए।
सुत्ने कोठा, भन्साकोठा, शौचालय–बाथरूम सबै चिटिक्क; घमाइला कोठा, शान्त पनि। मलाई कोठा खुब मनपर्यो। भाडाको कुरा पनि मिल्यो। बैना रकम छोड्ने कुरा पनि भयो।
घरबेटी हजुरआमाले मेरो घर, काम, अफिस, कोठामा बस्ने परिवार संख्या आदिको जानकारी लिइन्। कुरा सकिएर बिदा हुनै लाग्दा उनले मेरो जातथर सोधिन्। मैले आफ्नो थर बताएँ– विश्वकर्मा।
विश्वकर्मा भनेको कुन जात हो भन्ने थाहा नपाएको जस्तो कुरा गरिन् र थप प्रस्ट हुन खोजिन्।
मैले थप जानकारी दिएँ — हजुरआमा, विश्वकर्मा भनेको दलित समुदायको थर हो, म दलितकी छोरी हुँ।
उनी प्रस्ट भइन्। कोठाको ढोका बन्द गरिन्। एकपटक ज्वाइँलाई फोन गर्नुपर्छ भन्दै माथिल्लो तलामा गइन्।
दस मिनेटपछि आएर भनिन्, 'नानी, हामी त कसैले छोएको पानी खाँदैनौं। फलानो धर्म मान्छौं। तपाईंलाई कोठा दिन सक्दैनौं। अर्को ठाउँमा खोज्नुहोस्। यहाँ धेरै जनालाई खानेपानी पनि पुग्दैन।'
तीन साताको अवधिमा जातकै कारणले मलाई कोठा नदिने यी चौथो घरबेटी थिइन्।
दाइ र म फर्कियौं।
केही बेर हिँडेपछि दाइले भने, 'अहिलेको जमानामा पनि कस्तो चेत भएका मान्छे भेटिन्छन्! हाम्रोतिर यस्तो भेदभाव छैन। हामी त सँगै बसेर पनि खान्छौं।'
उनले 'दलितसँग सँगै बसेर पनि खान्छौं' भनेपछि मलाई झोँक चल्यो।
तर मनमनै भनेँ — सँगै खाना खाइदिनु, सँगै बस्नु, सँगै सुत्नु खुबै महान काम हो र? के हामीसँग कोही मिलेर बस्न मिल्दैन र? मिलेर बसेँ र सँगै बसेर खाएँ भनेर जताउनुपर्ने हौं र? मैले त तपाईंसँग सँगै बसेर खान्छु भनेर जताएको छैन त?'
जातीय विभेद नहुनु स्वाभाविक मानवीय कर्म हुनुपर्ने हो। जात सुनेर यसो गरिदिन्छु, उसो गरिदिन्छु, मैले त विभेद गर्दिनँ नै नभनिनुपर्ने हो।
मनमनै बोल्दै हिँड्दा ओरालोमा तीन जना महिला भेटिए। मैले उनीहरूलाई यता कतै कोठा खाली कि भनेर सोधेँ। एक जनाले त्यो घरमा खाली छ भनेर एउटा रातो घर देखाइन्। त्यो घरमा म एक दिनअघि नै पुगेकी थिएँ र जातकै कारणले कोठा नपाउने भएर फर्केकी थिएँ।
त्यो रातो घरमा पनि कोठा राम्रो लागेको थियो। हाम्रो परिवारका लागि उपयुक्त थियो। घरबेटीसँग कुरा मिल्यो। खोजेजस्तै कोठा पाइयो भनेर खुसी भएकी थिएँ। दुई दिनपछि सर्छौं भनेर घरबेटीलाई भनेकी थिएँ।
कोठा पाएको खुसीमा बा र म चिया पिउँदै थियौं।
बाले भने, 'नानी, एकपटक राम्ररी बुझ्नू, आफ्नो जातको बारेमा भन्यौ कि नाइँ? जातका कारणले पछि किचकिच गर्ने हुन् कि! सर्नुअघि नै पक्का भएको राम्रो। पछि झन्झट किन बेहोर्नु!'
मैले बालाई भनेँ, 'पढेलेखेका शिक्षित मान्छेको घर रहेछ। जातको कुरा गर्दैनन् होला। कोठाको कुरा हुँदा पनि जात सोधेनन्।'
बाको कुराले मेरो मनमा शंका भने उब्जियो।
फोन गरेर भनेँ, 'हाम्रो जात विश्वकर्मा हो, त्यहाँ बसेपछि जातको कुरा गर्नुहुन्छ कि नाइँ?'
घरबेटीले श्रीमतीसँग कुरा गरेर फोन गर्छु भने।
केही बेरमा उनको फोन आयो, 'मलाई त केही थिएन, श्रीमतीले मानिनन्। अरू ठाउँमा खोज्नू है बहिनी।'
पढेलेखेका र शिक्षित भनेर हुन्छ र? चेत खुल्नु र पढ्न जान्नु एउटै कुरा थोडि हो?
अर्को दिन कोठा खोज्दै एउटा घरमा पुगेँ। त्यहाँ पनि सबै कुरा मिल्यो। अन्तिम टुंगो हुँदै गर्दा घरबेटीले जात सोधे।
विश्वकर्मा हुँ भनेपछि घरबेटी हच्किए।
'नयाँ घर हो, पूजापाठ गर्न बाँकी छ, एकपटक आमाबुबालाई सोध्नुपर्छ' भने।
'लौ जजसलाई सोध्नु छ, सोध्नुहोस्' भनेर म आफ्नो बाटो लागेँ।
फेरि अर्को एक दिन उही रेडियो टावरको नजिकको अर्को एउटा घरमा पुगेँ। त्यहाँ पनि कुरा मिल्यो। घरबेटीले बैनाको रकम पनि लिए। सर्ने दिनको कुरा भयो।
म त्यहाँबाट हिँड्नै लागेकी थिएँ, घरबेटी महिलाले जातको कुरा सोधिन्। मैले अरूलाई झैं उनलाई पनि आफ्नो जात बताएँ।
ती महिलाले सिधै कोठा दिन्नँ त भनिनन्। तर पानी, बत्ती, आउने–जाने समय इत्यादिको कुरा निकालेर कडा नियम सुनाइन्। छाडिदिनू भनेका दिन छाड्नुपर्छ भनिन्।
जातको कुरामा अड्को थापेकी हुन् भनेर बुझ्न गाह्रो भएन।
जातको कुरा नगरी मैले भनेँ, 'अघि त केही पनि भन्नुभएको थिएन। बैना पनि लिएपछि पो कडा कुरा गर्नुभयो त!'
मैले यति भनेपछि 'तपाईंसँग कुरा मिल्ला जस्तो लागेन, अन्तै खोज्नुहोस्' भन्दै हातैमा बोकिराखेको बैनाको पैसा फिर्ता दिइन्।
तिजको दर खाने दिन परेको थियो। यतिका दिनको दौडधूप र तनावपछि कोठा पाइयो भनेर खुसी भएकी थिएँ। घरबेटीले कडा कुरा गरेर बैना फिर्ता गरेपछि मलाई त भक्कानो छुट्लाजस्तो भयो। आफूवरिपरि सबै अँध्यारो जस्तो भयो। बाहिर निस्केर सडक पेटीमा थचक्क बसेँ।
निकै बेर बसिछु क्यार! केही दिनदेखि भैंसेपाटीतिर धाइराख्दा केही पुरूषले म डेराकोठा खोज्दै छु भन्ने थाहा पाएका रहेछन्।
एक जनाले उपहासको भावमा सोधे — तिमीलाई कोठा चाहिँ कुन एरियामा चाहिएको?
म बोल्न चाहिनँ। मौन बसेँ।
फेरि उही भावमा भने — फोन नम्बर देऊ, कोठा पाएपछि फोन गरूँला।
मैले मौनतामै उपेक्षाको भाव प्रकट गरेँ। अँध्यारो भइसकेको थियो। निराश मन लिएर त्यहाँ भौंतारिनु उचित ठानिनँ।
कोठामा आएर बहिनीसँग दिनभरिको कथा सुनाएँ। खान पनि मन लागेन। रातभरजसो निद्रा परेन।
भोलिपल्ट अफिस जान पनि सकिनँ।
जातको कारणले कोठा नपाउनु मेरा लागि एउटा समस्या छँदै थियो। त्यसमाथि कोठा खोज्न सहयोग गर्ने व्यक्तिहरू पुरूष नै थिए। तिनको व्यवहारबाट पनि म हैरान हुन्थेँ। दुर्व्यवहारको अनुभव गर्थेँ।
कोठा खोजिदिने एक जना त छिनछिनमा फोन गरिरहन थाले। एक ठाउँमा कोठा मिल्ला जस्तो छ भन्थे तर टुंगो गर्दैनथे। ठाडो शैलीमा ठूल्ठूलो आवाजमा बोल्थे, लगातार फोन गरिरहन्थे। कुनै दया गरिदिन चाहेको जसरी पुरूषत्वभाव प्रकट गर्न खोज्थे।
दिक्क लागेर मैले तिनको फोन नै ब्लक गरिदिएँ।
यता बसिराखेको ठाउँ पनि जातकै कारणले छोड्नुपर्ने भएको थियो। सिधा भनेका थिएनन् तर आशय त्यही थियो। घरबेटीको वचन दिनदिनै छुद्र हुँदै गएको थियो। कहिले छाड्ने हो भनेर सोध्न थालेका थिए। घरभाडा बुझाउन जाँदा घरबेटीले बिनाकारण एकदम नमिठो गाली गर्थे।
बस्दै गरेको घरमा सजिलै कोठा मिलेको थियो। घरबेटीले जातको कुरा सोधेका थिएनन्। सम्बन्ध राम्रै थियो।
एक दिन घरबेटीले उचितै कारणले मेरो नागरिकता प्रमाणपत्रको प्रतिलिपि मागे। प्रतिलिपि बुझाएको एक साता नबित्दै उनले आफैंलाई आवश्यक परेको भनेर जति सक्दो चाँडो कोठा छाड्न व्यावहारिक रूपमा आदेश दिए। अन्तिम घरभाडा बुझाउन जाँदा त घरबेटीले भोलिपल्ट नै कोठा सर्नु, जसरी पनि सर्नु नत्र सामान नै फालिदिने जसरी हप्काएका थिए।
यही कारणले बसिरहेको डेरा छाड्न अर्को डेरा चाहिएको थियो।
यो हैरानीको एउटै कारण थियो मेरो जात।
मेरो थर विश्वकर्मा भएकै कारण डेरा पाउन मुस्किल भयो।
काठमाडौं आएपछि म पहिलोपटक जातीय विभेदको यो पीडा अनुभव गर्दै थिएँ।
पहिलो पटक विभेद भोगेको भने पाँच कक्षा पढ्दा हो। म एक जना साथीको घरमा पुगेकी थिएँ। साथीले गिलासमा पानी दिएकी थिई। मैले पानी खाएको गिलास 'छोइएको' भनेर साथीकी आमाले धोइपखाली गरेर घाममा सुकाएकी थिइन्।
त्यसै दिन मैले पहिलोपटक मन कटक्क खाने गरी जातीय विभेद अनुभव गरेकी थिएँ।
त्यसै दिन मेरो मनमा प्रश्न उठेको थियो — के मैले साथीको घरमा गिलासमा पानी खानु हुँदैन? म साथीको घरभित्र किन पस्नु हुँदैन?
आमाका साथ लागेर मेलापात जाँदा खानेकुरा माथिबाट खत्रक्क खसालिदिएको पनि देखेकी थिएँ। खानेकुरा किन त्यसरी दिएको भनेर आमालाई धेरै पटक सोधेँ। तर आमाको जवाफ धेरै दिन्नथिन्।
पढ्दै र बढ्दै जाँदा आमालाई सोधेका प्रश्नको जवाफ आफैं पाउन थालेँ तर पनि चित्त बुझ्दैन थियो। एकपटक एक जना छिमेकी दिदीले मेरी आमामाथि गरेको जातीय विभेदविरूद्ध आवाज उठाएकी थिएँ। ती दिदीमाथि कानुनी कारबाही पनि भएको थियो।
काठमाडौँ आउने बेला मलाई लाग्यो थियो — गाउँमा जस्तो मैले यहाँ भोग्नु पर्दैन।
यसपालि थाहा पाएँ — मैले जे ठानेकी थिएँ, त्यो गलत रहेछ। सहरका शिक्षित भन्ने मान्छेहरूमा पनि यस्तो पछौटे व्यवहारको जरो बलियो रहेछ।
जात हो या कुनै पनि हिसाबको विभेद गर्ने मान्छे मलाई पछौटे लाग्छ।
अब डेराकोठा पाउँदै पाउँदिनँ कि भन्ने मनमा चिसो पस्न थालेको थियो। काठमाडौंमा बस्ने ठाउँ नभेटिए त घर जानुपर्छ भन्ने सोच्दा मन खिन्न हुन्थ्यो। डेरा खोज्दा अनुभव गर्नुपरेको जातीय विभेदले म बिथोलिएकी थिएँ। आफ्नै साथीहरू हाँसीखुसी बोलेको पनि मलाई झर्को लाग्न थालेको थियो।
बेलाबेला भित्तामा मुड्कीले हानेर आवेश शान्त पार्थेँ।
एकपटक मैले सम्झिएँ, केही महिनाअघि एउटी बहिनीले मलाई म्यासेज पठाएकी थिइन् — दिदी, तपाईं पनि आफ्नो जात लुकाउनु। यस्तो समाजमा जात लुकाएन भने सम्मानजनक बाँच्न पाउँदैन।
बहिनीलाई मैले सम्झाएकी थिएँ, 'कसैले हामीलाई जातको या कुनै पनि समुदायको भएको कारण विभेद गर्छ भने त्यो गलत हो। हामी बोल्नुपर्छ। लड्नुपर्छ। जात भनेको हाम्रो पहिचान हो। पहिचान भनेको आत्मसम्मान हो। कसैले हाम्रो पहिचानलाई स्वीकार गर्दिनँ भन्न पाउँदैन।'
त्यसैले मैले आफ्नो थर लुकाइनँ।
मैले निकटका केही साथीलाई जातकै आधारमा कोठा नपाएको कुरा सुनाएँ। कसैले निराश नहुन प्रेरित गरे त कसैले कानुनी प्रक्रियामा जान सुझाव दिए। हरेस खाएर गाउँ नफर्किनू भन्ने उनीहरूको साझा भनाइ थियो।
तर मैले केही गरिनँ, चुपचाप बसेँ।
म अचेल सोच्छु — किन म चुपचाप बसेँ?
सायद जातीय विभेदविरूद्ध लड्नुपर्छ भनेर मैले तयारी गरिसकेकी थिइनँ। वा मेरो मनलाई थाहा छ, यो समाजमा, यो राज्यमा मैले न्याय पाउँदिनँ।
मलाई विभेदको विरोध गर्नुपर्छ, विभेद गर्नेलाई कानुनले दण्ड गर्छ भन्ने थाहा त छ। जसलाई लड्नुपर्छ, बोल्नुपर्छ भन्ने थाहा छ, ऊ किन केही गर्न सक्दैन?
मलाई अहिले महसुस भइरहेको छ — किनभने, म यस्तो राज्यमा छु जहाँ संविधान र कानुनमा 'समानता हुने' भन्ने दुई अक्षर लेखेर ऊ चुप छ।
मैले देखेकी छु — रूपा सुनारले पनि जातकै कारण कोठा पाइनन्। उनले प्रहरीमा उजुरी दिइन्। तर बहालवाला मन्त्रीले नै घरबेटीलाई जमानतमा छुटाए।
मैले देखेकी छु — दिपा नेपालीलाई गृह मन्त्रालयमा काम गर्ने कर्मचारीले डेरा दिएपछि थर थाहा पाएर निकाले। उनी प्रहरीमा पुगिन्। सुरूमा उनका कुरा सुन्न प्रहरीले नै मानेन। प्रहरीसँग लडिन्। मुद्दा अदालतसम्म पुग्यो। उच्च अदालतसम्म पुग्दा पनि उनले न्याय पाइनन्। प्रहरीदेखि अदालतका न्यायाधीशसम्मले उनको मुद्दाको तथ्य प्रमाणमा न्यायिक आँखाले होइन, उपल्लो जातको नजरले हेरे। उनी अझै लडिरहेकी छन्।
जातकै कारण कति युवाले ज्यान गुमाए, कति नाबालिग र महिला बलात्कारमा परेर हत्या भयो। कति महिलालाई त जातकै कारण बोक्सीको आरोप लगाउँदै दिसा समेत खुवाइयो। यो सबै विभेद गर्नेहरू त्यही समुदायका हुन् जो आफूलाई माथिल्ला जातको सम्झिन्छन्। अनि न्याय दिने कुर्सीमा बसेकाहरू पनि त्यही समुदायका ज्यादा छन् जसले आफूलाई माथिल्लो जातको सम्झिन्छन्।
मलाई यस्तो लाग्छ — खास भन्ने हो भने यो राज्य चलाउनेहरू जातीय विभेदलाई समस्या नै मान्दैनन्। उनीहरूको मनमा न्याय छैन। त्यसैले सायद मैले मलाई जात हेरेर कोठा नदिनेलाई उजुरी गर्न सकिनँ।
कोठा खोज्ने काम त जारी नै थियो। मैले आफ्नो जातथर भनेर डेरा पाउनुपर्छ भन्नेमा म जिद्दी गरेरै बसेँ। सायद यही मेरो लडाइँ थियो।
मेरो अठोटले काम गर्यो। मैले डेरा पाएँ।
घरबेटीले मेरो घरमा जातका कारणले कुनै पनि विभेद र अपमान अनुभव गर्नुपर्ने छैन भनेर आश्वस्त तुल्याए।
मलाई लाग्यो, बिस्तारै परिवर्तन हुँदैछ।
र, मलाई यो पनि लाग्यो — तर काठमाडौं उपत्यकामा डेरा बस्ने दलित समुदायको व्यक्ति म मात्र त होइन, अरूले कस्तो अनुभव गरेका होलान्!
डेरा कसरी पाए होलान्! कि हार मानेर गाउँ फर्के होलान्?