झेली श्रीमान!

झेली श्रीमान!

क्यापुचिनो र चुरोटको सर्कोसँगै म उसलाई पर्खिरहेको थिएँ। सायद कफी लाउन्जमा रहेको मेरो समानान्तर कुर्चीले पनि।

अस्ट्रेलिया बसाइ बिट मारेको करिब आधा दशकपछि ऊसँग भेट हुँदै थियो।

'म आइसकेँ। नजिकै छु। जस्ट फाइभ मिनेट्स,' मैले फोन गरेर हेलो भन्न नपाउँदै एकै सासमा फलाक्दै फोन राखी।

उसको पाँच मिनेट घडीले फन्को मारेको २० मिनेटपछि मात्र पूरा भयो।

त्यतिन्जेल प्रयोग हुँदासम्म भएर टेबलको एस्ट्रेमा लाचार भएर पल्टिरहेको चुरोटको ठुटो र बढिरहेको जाडोमा एकैछिन भए पनि न्यानो बनाउने प्रयासमा रित्तिएको कफीको कपलाई हेरेर समय बिताएँ।

'सौगात, आम्मामा! के सारो मोटाको!'

'सरी फर बिइङ लेट' बाट हाम्रो संवाद सुरू हुने अपेक्षा थियो। मलाई जे सुन्न मन लाग्दैन, उसले त्यसैबाट संवाद सुरू गरी।

मानिसको 'फिजिकल अपियरेन्स' बाटै संवाद सुरू गर्नुपर्छ र?

ओहो, कस्तो मोटोघाटो खाइलाग्दो! हैन के सारो ख्याउटे! मरञ्च्याँसे, खानै नपाएको जस्तो! — यस्ता संवादहरू मलाई बेतुकका र फजुल लाग्छन्।

मोटोघाटो सुख पाएको ज्यान र पातलो दु:ख पाएको ज्यान गरी दुई भागमा वर्गीकरण गर्नेको जमात पनि छ।

उनीहरूलाई कसले सम्झाइदियोस् — मोटो देखिने मानिसले क्विन्टल पीडाको भारी बोकेर हिँडेको अनि पातलो प्रफुल्ल सुखको खातमा रमाइरहेको!

तिनै फजुल मानिसहरू जस्तै उसले पनि फजुल वाक्य भेटी, वर्षौंपछिको भेटको संवादको सुरूआतमा पनि।

किन समयमै आइनौ भनेर प्रश्न गर्न अब उचित ठानिनँ। झनक्क उठेको रिस दबाउँदै फिस्स हाँसोको लेप लागाइदिएँ मुहारमा।

'हेल्लो भाइ,' हात हल्लाउँदै ठूलो स्वरमा बोलाई।

सेतो सर्ट, कालो पाइन्ट, कलिलो देखिने युवक हातमा कागजको पाना र पेन लिएर आयो। मेनु टेबलमा राख्दै सकेको मुस्कान छोड्यो।

'टु क्यापुचिनो, एन्ड वन क्लब स्यान्डविच प्लिज,' वेटरले त्यो अर्डर टिप्दासम्म पनि सुरूआतमा दिएको मुस्कानको गतिमा कमी हुन दिएको थिएन।

'भाइ, एउटा चुरोट पनि, लाइटमा।'

'हस् सर,' त्यो हँसिलो वेटर मेनु बोकेर गयो।

मलाई पनि क्यापुचिनो नै अर्डर गरी। के लिन्छौ भनेर सोध्न जरूरी पनि ठानिन।

हुन त हामी पहिलोपटक सँगै बसेर कफी पिउन लागेका थिएनौं। मेरो रोजाइ पनि प्रायः क्यापुचिनो नै हुन्छ। त्यो कुरामा ऊ पनि अन्जान थिइन। तैरिरहेको फिँज ओठमा टाँसिदा क्यापुचिनोको स्वाद झन् मीठो लाग्छ मलाई।

ढिलो आएर फजुल वाक्यबाट संवाद सुरू गरेदेखि नै रिस उठिरहेको मलाई, कफी अर्डरको कुरामा भने रिस उठेन।

'अनि सुनाऊ के छ नयाँ नौलो,' फेरि पनि संवाद उसैले सुरू गर्दै थिई।

'के हुनु, सबै ठीकै भनम्। अनि तिम्रो सुनाऊ के छ?'

'तिम्रो जस्तै सबै ठीकै भनूँ भने ठीक केही पनि छैन। बेठीक छ सबै भनूँ भने कथा लामो छ।'

'आज मेरो फुर्सद नै छ। सुनाउँछौ भने सुन्न इच्छुक पनि।'

ऊ केही समय टेबलतिर निहुरिँदै नङले टेबल कोर्तन थाली। मानौं त्यो टेबलमा उनका सबै पीडा टाँसिएर बसेका छन् र ऊ एक/एक पीडा कोट्याउँदै फाल्दैछे।

केही समय अगाडिसम्मको मेरो रिस, उसको मौनता र उसमा झल्किरहेको पीडाले मत्थर भइसकेको थियो।

पछिल्लो समय उसको वैवाहिक जीवन त्यति सुखी नभएको उसका अचेलका प्राय: फेसबुकका स्ट्याटसले प्रस्ट पार्थ्यो।

म करिब करिब ढुक्क थिएँ, उसको पीडाको पछाडि वैवाहिक सम्बन्धमा चलिरहेको उतारचढाव थियो।

उसको प्रेमीसँगै बिहे हुन लागेको खबर सुनाएकी थिई। त्यसपछि क्रमश: हाम्रो संवाद पातलिँदै गएको थियो। जे होस् एक मन मिल्ने साथी थिई। सायद अझै पनि हो।

'किन मौन रहेको! सुनाउन मन छैन भने कर चाहिँ गर्दिनँ है। तर, पीडा र रक्सी उस्तै हो, जति छोपेर राख्यो त्यति कडा, अनि खुला छाड्यो भने फिक्का।'

उ;ले मेरो आँखामा हेरी। मौनता भने कायम नै राखी। उसका आँखामा आँसु टिलपिल गरिरहेका थिए।

एक मनले त सोचेँ, मैले सायद गलत समयमा उसलाई भेटेँ।

आज मलाई ढुंगा जस्तै बन्न मन लागिरहेको थियो। तर उसका टिलपिल आँखाले फेरि मलाई कमजोर बनाउने प्रयत्न गरिरहेका थिए।

उसका बग्नै लागेका आँसुले गति लिए। अन्तत: पोखिन तँछाडमछाड गरिरहेका आँसु उसले थामेर राख्न सकिन।

टेबलमा रहेको न्याप्किन उठाएर सकेसम्म आँखाका गाजल नपुछिने गरी आँसु पुछी।

हँसिलो भाइ मुस्कानसँगै कफी र क्लब स्यान्डविच बोकेर हामीतिर आयो।

उसले भिजेका आँखा लुकाउन निहुरिएर बसी। उसको प्रयास सफल भयो या भएन, ठोकुवा गर्न नसके पनि कफी टेबलमा राख्दासम्म पक्कै पनि वेटर भाइले भने चाल पाएको हुनुपर्छ।

मलाई रोइरहेको मान्छेलाई फकाउन आउँदैन। अझ भनौं फकाउन मन पनि लाग्दैन। रून पाउनु मान्छेको त्यतिकै अधिकार हो जति हाँस्न पाउने छ। हाँसेर मानिस आफ्नो खुसी व्यक्त गर्छ र रोएर पीडा कम गर्ने कोशिस। हुन त यस कुरा जगजित सिंहको यो गजलले सही नठहर्‍याउन पनि सक्छ।

'तुम इतना जो मुस्कुरारही हो

क्या गम हे जिस्को भुलारही हो'

उसका आँखा ओभाउने कुनै लक्ष्ण देखिरहेको थिइनँ। उसलाई एकोहोरो हेरिरहन पनि उचित लागेन। चुरोट सल्काउँदै कफीको चुस्की लिन थालेँ।

लागिरहेको थियो, एकछिनमा उसले कथा सुनाउँछे। आँसु बगाएर सायद साहस सँगाल्दै छे। तर त्यसो भएन। ऊ त्यहाँबाट जुरूक्क उठेर हिँडी।

कता जान लागेकी, केही थाहा भएन। ऊ कफी लाउन्जको गेटबाट बाहिर निस्किँदासम्म मैले उसलाई हेरिरहेँ। रिस पनि उठ्यो। मैले नै उसलाई पीडा दिएको जसरी व्यवहार देखाई।