श्रीमानकी प्रेमिका

श्रीमानकी प्रेमिका

घरपरिवारले रोजेको ऊ मेरो लोग्ने, अनि म उसकी श्रीमती बनेको एक वर्ष मात्र पुगेको थियो।

उनी पातला, अग्ला, गोरा, ठूलाठूला कान परेका, राम्रा, पढेलेखेका, धेरै पढेका थिए। म भने मोटी, काली, गुन्द्रुके कपाल भएकी जम्मा ११ पढ्दै गरेकी। पेटभित्र बच्चाले आफ्नो जिन्दगी सुरूआत गर्दै गर्दा मेरो पढाइले विश्राम लिइसकेको थियो।

घरमा उनी र म मात्रै। बिहेमा जन्तीतर्फको बस पल्टेर ससुरा-बा बिदा भएका थिए। सासूको भने पहिल्यै निधन भइसकेको थियो। बिहेलगत्तै मलाई आफन्तले 'अलच्छिनी' भन्न भ्याए।

सबेरै बिहान उठेर नुहाइधुवाइ गरेर तातो कफी बनाएर श्रीमानका लागि बिस्तारामा लाँदै थिएँ। एक्कासि बुढाले फोनमा कसैलाई मायालु स्वर निकालेर शुभबिहानी भनेको सुनेँ।

उनको यति मीठो आवाज आज बिहे गरेको एक वर्ष भइसक्दा एकचोटि पनि सुनेकी थिइनँ। मेरा बुढाले त्यति मीठो बोल्छन् भन्ने थाहै थिएन, पहिलो पटक सुनेकी थिएँ।

अझ कान थापेर ढोकानजिकै गएर सुन्न लाग्दा मेरा चुरा एकआपसमा ठोक्किए। मैले म आएको आवाज दिएँ।

सायद महिलालाई यो चुरा लगाउने प्रथा पुरूषले नै बनाएको जस्तो लाग्यो। हाम्रा हातका चुरा, पाउजुले हामी जता गयो संकेत दिने, पुरूषले जासुस नै राख्नुनपर्ने। जासुसी त हामी नै बोकेर हिँड्ने रहेछौं जस्तो लाग्यो!

म कोठामा पस्नेबित्तिकै उनले फोन राखे। एकैछिनमा अल्छी पारा झिक्दै भर्खर उठेको नाटक गरे। आँखा मिचेर लामो हाइ काढे।

मलाई भने खसखस लाग्न सुरू भयो। कसको फोन हो भनेर सोध्न भने मन लागेन। केही सोध्यो भने 'महिलाको जात, शंकालु' भनेर हजारपटक गाली गरेकाले सोध्ने हिम्मत राखिनँ।

लोग्नेको कमाइमा बाँच्नुपरेको मलाई उनीमाथि प्रश्न उठाउनु शोभा दिँदैन भनेर मेरो आमाले भनेको सम्झेँ। मनलाई शान्त पार्ने कोशिस गरेँ।

तर पनि मनमा उठेको ज्वारभाटाले उत्पन्न गराएका शंकाहरू वरिपरि बिस्कुन झैं छरपस्ट पसारो परिरहेका थिए।

भान्छामा छिरेर आलुका बोक्रा तास्दै गर्दा मेरा दिमागमा अनेक कुरा थुप्रिएका थिए।

'उनले त्यति मीठो कसलाई बोल्न सक्छन् र? बहिनी त होइन। बिहिनीलाई तँ भनेर सम्बोधन हुन्छ। साथीहरूलाई? त्यो पनि हुन सक्दैन। लामो लर्को तानेर बिस्तारै बोल्न त माया नलागेको मानिसलाई पक्कै होइन। थोरै माया मात्रै लाग्नेलाई पनि हुँदैन। ऊ त विशेष हुनुपर्छ। मभन्दा नि विशेष। अहँ यो त हुनै सक्दैन। म त उनकी श्रीमती। जिन्दगीभर साथ दिने बाचा कसमसहित आफ्नो घर छोडेर उनकै भरमा रहर सबै मारेर आएकी। उनका गन्तव्य नै मेरा हुन् भनेर दुःखसुखमा साथ दिनलाई आएकी। मभन्दा त विशेष हुनै सक्दैन। तर मलाई त आजसम्म मीठो बोलेकै छैनन्। ह्या शंकाले लंका डढाउँछ भन्छन्। यस्तो शंका गर्नु ठीक होइन।'

खाना खाने बेला भयो। पहाडमै बस्ने मेरो जन्मघरकी बुढीआमालाई फोन गरेँ। श्रीमानको हातमा पनि फोन राखिदिएँ। मैले पकाएको खाना कहिल्यै मीठो हुँदैन श्रीमानलाई। आज मैले उनैलाई मनपर्ने पनिरआलु बनाएकी थिएँ। आफूले सक्दो मिहिनेत गरेर उनलाई खुसी बनाउन प्रयत्न गरेँ।

खाना मुखमा हाल्नेबित्तिकै तरकारी मीठो भएछ भन्ने सुन्दा यो कानले पूरै स्वर्ग घुमेर आएभन्दा कम्ता भएन। फुरूङ फुरूङ उफ्रिन मात्र बाँकी थियो। धेरै नै खुसीको तालमा आफूलाई नै भाग नराखी सबै तरकारी उनैलाई खन्याएछु। म पनि एक नम्बर बुद्धु हुँ। तर श्रीमानले सानो प्रशंसा मात्र गरिदिए यस्ता हर्कत म हजारौं गर्न तयार हुन्थेँ हुँला।

कराइमा रहेको लेदो हातले सोहोरेर खाएँ। त्यही पनि मीठो भयो। छिटो छिटो खाएर अफिसका लुगा तयार गरिदिएँ। उनी हिरो बनेर अफिस लागे।

मेरो दिनभरिको कामले बेलुका शरीर लत्रक्क हुन्थ्यो। बिस्तार बिस्तार खाना खान रूच्न छाडेको थियो। शरीर पनि कमजोर भएको थियो। काम गर्न फिटिक्कै मन लाग्न छाडेको थियो। भान्छा त छिर्न नै मन नलाग्ने भइसकेको थियो। मेरो गाउँकी साथी पनि त्यही काठमाडौंमै डेरा लिएर बसेकी थिई। उसको गर्भवती भएको ६ महिना पुगिसकेको थियो। ऊसँग भलाकुसारी गरेँ। तर उसको श्रीमानले गर्ने सहयोग सुनेर मन अमिलो भयो। त्यही पनि मैले आफ्नो पीडा उसलाई सुनाउन चाहिनँ।

साँझ घर फर्केँ। श्रीमानले एउटा मोबाइल हातमा राखेर च्याट गर्दै अर्को हातले ढोका खोले। उनलाई म आएको/गएको, भए/नभएको केही मतलब थिएन। तर यसलाई मेरो स्वतन्त्रता भन्न भने फिटिक्कै मन लागेन। छिटो छिटो खाजा बनाएर खाना पकाउन थालेँ।

बेलुका यस्तै १० बजेको थियो। श्रीमान निदाउने तरखर गर्दै थिए। अचम्म यो लाग्यो कि सधैं जसो मभन्दा ढिलोसम्म मोबाइल खेलाएर बस्ने श्रीमान आज मोबाइल बन्द गरेर सुत्न लागेका थिए।

मोबाइल हेर्न मन थियो। तर पासवर्ड थियो। सम्भव थिएन। जुक्ति निकालेँ।

'ए हजुर, आज म आमासँग कुरा गर्छु। मेरो मोबाइलमा पैसा सकिएछ। आमा बिरामी हुनुन्छ रे।'

एउटा आँखा खोलेर पासवर्ड हानेर मोबाइल खोलिदिए। मलाई खोजेजस्तै भयो।

मोबाइल चेक गर्दागर्दै उठ्छन् कि लागेर गीत बजाएँ।

बिस्तारै हातले उनको कपाल मुसारिदिएँ। केही समयमा उनी भुसुक्कै निदाए।

त्यो रात मेरो मर्जीको भयो। भकाभक मोबाइलका मेसेज खोलेँ। खासै मेसेजमा त्यस्तो ठूलो कुरा देखिनँ जसले मेरो शंकाको प्रामाण पुगोस्। म आफैंलाई गाली गर्न थालेँ।

'बेकारमा बुढोको शंका गर्ने पापिनी होस् तँ। बिचरा अफिसबाट थकाइ लागेर आउनाले दिक्क भएर मसँग रिसाउने होलान् नि। उनी जागिरे मान्छे उनका मान्छे थुप्रै हुन्छन्। व्यर्थमा यस्तो सोच्नु राम्रो होइन।'

यति सोचेर मोबाइल राख्न मात्र लागेकी थिएँ, एउटा मेसेज आयो। 

'बेबी मसँग नरिसाउन। मेसेन्जरमा आऊ न। म सबै कुरा भनिदिन्छु।'

ओहो को हो यो? म झसंग भएँ। के गर्ने, नगर्ने मेसो पाइनँ। छिटो छिटो मेसेन्जर खोलेँ।

रूपा भन्ने केटी रहिछे। भर्खरकी। राम्री। पुष्ट जिउडाल भएकी। म कता गाउँकी, ऊ सहरकी जस्ती देखिन्थी। उसका कपडा आकर्षक र छोटा थिए। म म्याक्सी, कुर्ता, सारी मात्र लगाउँथेँ। उसको च्याटमा अंग्रेजी धेरै हुन्थ्यो। कतिपय मैले बुझिनँ। आखिरमा मेरो श्रीमानलाई सुहाउने ऊ नै हो कि जस्तो पनि लाग्यो।

ऊसँग गफ गर्दा यस्तो लाग्यो, ऊसँग म लामो समयदेखि कुरा गरिरहेकी छु। तर च्याटमा पुरानो एउटा पनि मेसेज थिएन। उनीहरूबीच भएको झगडा मैले बुझ्न सकेँ। उनीहरूबीच सबै भएको रहेछ जुन श्रीमानश्रीमती बीच हुन्छ। केटीले भने बिहे गर्ने जिद्दी गरेकी रहिछे। त्यो रात ऊसँग कुरा भयो जो मेरो हुनेवाला सौता थिई। उसले भिडिओ च्याट गरम न आज भन्न थालेपछि भने मेसेन्जर काटिदिएँ।

एउटा हात बच्चाले भरिएको पेटमा राखेँ। अर्को हातले स्क्रिन तलमाथि सारेँ। उसले गरेका केही शब्दहरू यस्ता थिए सायद श्रीमानश्रीमतीबीच पनि हुँदैन होला। केही शब्द यस्ता थिए जुन श्रीमान् श्रीमतीबीच हुन्छ र केही शब्द यस्ता थिए जुन शब्द सुनिएको नै हुँदैन।

श्रीमान पूरै अर्काको मायाको खाडलभित्र डुबेको देख्दा म आँसुको खाडलभित्र डुबेकी थिएँ। एकाएक म रित्तो महसुस गर्न थालेँ। लोग्ने मानिसको निर्दयी मन बनाउने इश्वर देखेर पनि रिस उठ्न थाल्यो। पेटको बच्चा सम्झिएँ। फेरि रोएँ। महिना दिन नै भइसकेको थियो राम्ररी खाना खाएकी थिइनँ। कमजोर महसुस भइरहेको थियो। फेरि श्रीमानसँग मनमनै रिसाएँ।

'अरू नै सँग माया गर्नु थियो त मलाई किन बिहे गर्नु? लु बिहे नै गरे पनि किन बच्चा बनाउनु। यो बच्चाको के दोष थियो?'

जुरूक्क उठेँ। भित्रभित्रै जलन भइरहेको थियो। मनले के के सोच्यो, त्यो दिमागले सोच्न भ्याएन।

रातको यस्तै १ बजेको थियो। लुगा सुकाउन राखेको डोरी झिकेँ। बाँच्ने मन एक्कासि हरायो। उनले मलाई गरेका तुच्छ शब्दहरू, मलाई गरेका बेवास्ताहरू, म आफ्नै घरमा मिल्केको जुठो टपरीभन्दा अरू माथि दाँज्न नसकेपछि बाँच्न नै व्यर्थ लाग्न थाल्यो।

फेरि एकचोटि श्रीमानलाई हेरेँ। उनी मस्तसँग निदाइरहेका थिए। निदाउँदा उनी साँच्चै बच्चा जस्तै निर्दोष देखिएका थिए।

के गरूँ, नगरूँ! दिमागले सोच्न सकेन। म उनलाई प्राणभन्दा ज्यादा माया गर्थेँ। अझ पेटको बच्चा पनि हुर्किँदै थियो। बच्चालाई पनि सम्झिएँ। आखिर मायाले जित्यो। म मर्न सकिनँ।

बिहानको तीन बजिसकेको थियो।

मलाई डोरी फालेर डाँको छोडेर श्रीमानको छातीमा टाँसिएर रून मन लाग्यो। उनलाई थुप्रै प्रश्न सोध्न मन लाग्यो।तर सकिनँ।

श्रीमानको हात फिजाएँ। उनको अँगालोमा आफूलाई बेरेँ। उनको हातलाई मेरा हातले समातेर मेरा आँखाका आसुँ पुछेँ।

मनमनै म श्रीमान बनेर आफूलाई नै सम्झाएँ — किन रोएकी लाटी! म तिमीलाई धोका दिन्छु त? तिमी त मेरी श्रीमती होऊ नि! मेरी अर्धांगिनी। मेरो जिन्दगी। मेरो प्राण!

यस्तै भन्दै चित्त बुझाउने प्रयास गरेँ।

उनको अँगालोमा जति नै बेरिए पनि पुगेन। अझ धेरै उनको छातीमा टाँसिन मन लाग्यो। तर मेरो बढेको पेटले खोजे जसरी टाँसिन मिलेन। यसरी बेरिएको तीन महिनापछिको पहिलो रात थियो। त्यो पनि एकोहोरो। अलि आनन्दको सास फेरेँ। श्रीमान मस्त निन्द्रामै थिए। उनको अनुहार सुम्सुम्याएँ।

मनले सोच्यो— आखिर जस्तो भए नि यो मेरो लोग्ने। सात फेरा लिएरसँगै बाँच्ने र मर्ने कसम खाएको। एकचोटि मानिसको गल्ती हुन्छ। मैले यसलाई माफ दिनुपर्छ!

त्यो रात निद्रादेवी मसँग रिसाइन्। न त छोटो निद्रा निदाउन सकेँ, न जिन्दगीभर निदाउने निद्रा नै पर्न सक्यो।

बिहानपख जाडो बढेजस्तो भयो। शरीर थरथर काम्न थाल्यो। श्रीमान पनि उठे। उठ्ने बित्तिकै ट्वाइलेट गए। केही छिनपछि चिया भनेर अर्डर गरे। म कुर्ताको सलले रातभरि रोएर सुन्निएका आँखा र मुख छोपेर चिया बनाउन उठेँ। पूरै घुमाइराखेको थियो। बल्ल बल्ल चिया बनाएर श्रीमानलाई दिएँ। उनले एकचोटि मेरो मुख पनि हेरेनन्। मोबाइलमा नै ध्यान थियो।