‘लोई हिंड कबिरसँगै-कोइला खातमा दबिएर बसेकी हीराको कथा’

‘लोई हिंड कबिरसँगै-कोइला खातमा दबिएर बसेकी हीराको कथा’

“म तिम्रो पतिभन्दा पहिले तिम्रो मित्र हुँ । प्रेम कुनै सम्बन्ध वा शरीरमा बाँधिएको हुन्छ र ?”

हो, यसै भन्छन् नाटक ‘लोई हिंड कबिरसँगै’ मा कबिर आफ्नी नवदुलही लोईलाई । सम्बन्धको व्यापारीकरण र झुटो प्रेमको बिगबिगीले आक्रान्त बनेको आजको मानिसलाई कबिर र लोईको साँचो प्रेमले ओतप्रोत तिलस्मी संसारमा विचरण गराउँछ नाटक ‘लोई’ ले ।

प्रेमको सुन्दर, बृहत् र अनुपम परिभाषा लिएर भर्खरै नेपाली पाठक माझ नाटक ‘लोई’ ले प्रवेश गरेको छ । हिन्दी साहित्य जगतका ख्यातनाम लेखक प्रताप सोमवंशीद्वारा लिखित यस नाटकलाई पवन थापाले नेपालीमा अनुवाद गरेका छन् । जीवनमा छाएको अँध्यारोलाई पन्छाउँदै उज्यालोतिर पाइला बढाउन हाम्रो प्रेमिल हृदयले हामीलाई सक्षम बनाएको छ भन्ने वाणी र विचारले कबिरलाई लाखौं मानिसको हृदयमा वास गरायो ।

कबिरको यस्तो सुन्दर विचार र वाणीलाई कायम रहन दिने, त्यसलाई अझ सूक्ष्मता र सरलताका साथ आम मानिसको बीचमा सघन रूपले फैलाउने काम उनकी पत्नी लोईले गरेकी हुन् । तर समाजले लोईलाई कहिल्यै सम्झन, आफ्नो हृदयमा सम्मानपूर्वक सजाएर राख्न सकेन । राख्तो हो त यसअघि नै लेखिंदो हो ‘लोई’ । तर जब लेखियो उनलाई केन्द्रमा राखेर, लोईलाई पूर्ण न्याय दिएर लेखियो । ‘लोई’ लाई लेखक प्रताप सोमवंशीले जत्तिकै न्याय यसका अनुवादक पवन थापाले पनि गरेका छन् ।

लोईमा भएका हरेक दृश्य, संवाद, भजन र दोहाको नेपालीमा सुन्दर र सहज ढंगले अनुवाद गरिएको छ । नाटकलाई धेरै हदसम्म नेपालीकरण गर्ने प्रयास गरिएको छ । अनुवादकले नेपाली पाठकलाई नाटकको बनोट, ध्वनि, दृश्य आदिमा नेपाली सुगन्ध र स्वाद पस्किने प्रयत्न गरेका छन् । यो नाटक पढ्दा लाग्छ लोई र कबिर नेपालकै कुनै गाउँमा प्रेमालाप गरिरहेका छन् । समाजको कुरीति र कुप्रथा विरुद्धको बहस छेडिरहेका छन् । मन माझा-माझ गरिरहेका छन् ।

‘लोई’ नाटक मार्फत थापाले नेपाली पाठकलाई ६५० वर्ष अघिको भारतको भूगोल, संस्कृति र परिवेशमा प्रवेश गराएका छन् । नाटक पढ्दै गर्दा पाठक इतिहासको त्यस घडीमा विचरण मात्र गर्दैन, ऊ त्यही संसारमा प्रेमपूर्वक बाँधिन्छ । लोईको संसारमा प्रविष्ट गरेपश्चात् प्राप्त भएको नवअनुभव र नवबोधको निम्ति लेखक/अनुवादक प्रति आभारी पनि हुन्छ पाठक ।

विषयवस्तु र शिल्पीको हिसाबले ‘लोई’ लाई हेर्दा नेपाली पाठकले एउटा उम्दा नाटक पाएका छन् । यस नाटकमा कबिर भगवान्, जादुयी व्यक्तित्व होइन एक आम मानिस, एक पत्नीव्रता पति, मायालु छोरा, प्रेमिल बुबा, सत्यनिष्ठ मानिसको रूपमा प्रकट भएका छन्

यस नाटकको क्यानभासमा प्रतिबिम्बित समाज हेर्दा लाग्छ हामीले आफू बाँचेकै समाजको ऐना ‘लोई’ मा हेरिरहेका छौं । लोईले उजागर गरेको तत्कालीन सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्था अहिलेको समाजको भन्दा खासै भिन्न छैन । यही समानताले पाठकलाई ‘लोई’ को झन्झ-न् नजिक तुल्याउँछ ।